सर्वोच्चले भन्यो : घटना भवितव्य मान्न मिल्दैन, कोइरालाको कैद घटाउने फैसला पुनरावलोकन गर्नू 

Law Hub Nepal श्रावण ११, २०७७

काठमाडौं । सर्वोच्च अदालतले श्रीमतीको हत्या गरी जेल परेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला पुनरावलोकन गर्नुका तीन कारण प्रस्तुत गरेको छ।

आइतबार न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको सजाय मुलुकी ऐनको १८८ नम्बर बमोजिम घटाउन नमिल्ने देखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन गर्न अनुमति दिएको हो।

कोइरालाले प्रहरीसँगको बयानमा कसुर सकारे पनि अदालतमा आएर कसुर इन्कार गरेको, उनले लास लुकाउन गरेको प्रयत्नबाट उक्त घटना सामान्य र भवितव्य मान्न मिल्ने नदेखिएको र सर्वोच्च अदालतकै नजिरहरू विपरीत फैसला भएको भन्दै कैद घटाउने प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले गरेको फैसला पुनरावलोकन हुने तीन न्यायाधीशको इजलासले बताएको छ।

‘प्रस्तुत विवादमा प्रतिवादी रन्जन कोइरालाले मौकामा सावित भई अदालतमा बयान गर्दा आरोपित कसुरलाई इन्कार गरी ब्यहोरा लेखाएको देखियो,’ उक्त इजलासले भनेको छ,’प्रस्तुत वारदात हेर्दा कोइरालाले घटना घटाउँदा र घटना भएपछि मृतकको लास लुकाउन गरेको क्रियाकलापबाट घटित बारदातलाई सामान्य अवस्थाको भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्थासमेत देखिदैँन।’

कोइरालालाई मुलुकी ऐनको १८८ नम्बर बमोजिम सजाय घटाउन दिइएको राय सर्वोच्च अदालतले प्रतिपादन गरेका ४ वटा नजिरविपरीत रहेको उक्त इजलासले उल्लेख गरेको छ।

‘उनलाई गरिएको जन्मकैदको फैसला चर्को पर्न जाने न्यायाधीशको राय पनि शान्ति बिकविरूद्ध नेपाल सरकार, नेपाल सरकारविरूद्ध जुगत सदा, नेपाल सरकारविरूद्ध शेरबहादुर बस्नेतसमेत र केदार माझीविरूद्ध नेपाल सरकार भएको मुद्दामा प्रतिपादित सिद्धान्त प्रतिकूल पाइँदा उक्त फैसला पुनरावलोकन गर्न अनुमति दिइएको छ,’ तीन न्यायाधीशको इजलासले भनेको छ।

असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको इजलासले कोइरालालाई जन्मकैद चर्को पर्न जाने भन्दै साढे ११ वर्ष कैद सजाय घटाइ दिने फैसला गरेका थिए।

महान्यायाधीवक्ता कार्यालयले उक्त फैसला त्रुटीपूर्ण भएको भन्दै पुनरावलोकन माग गरेको थियो। उसले बिहीबार सर्वोच्चमा दिएको पुनरावलोकन निवेदनमा सर्वोच्चको फैसला त्रुटीपूर्ण हुनुका ८ वटा आधार कारण देखाएको थियो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार