कानून पढ्दै हुनुहुन्छ ? जान्नुहोस् कानूनका विद्यार्थीसँग हुनै पर्ने ६ गुणहरू !

Law Hub Nepal कार्तिक १५, २०७७

ल हब नेपाल । कानूनको अध्ययन चुनौतीपूर्ण भएपनि यसको अध्ययन पश्चात मेहेनत र क्षमता अनुसारको फल भने अवश्य पाइन्छ ।

कानून अध्ययन गर्ने विद्यार्थीहरूसँग केही विशेष र पृथक गुणहरू पनि चाहिन्छ, जसले उनीहरूलाई विश्वविद्यालयमा मात्र नभई बाहिर पनि सफल हुन सघाउ पुर्‍याउँछ ।

एउटा योग्य कानूनको विद्यार्थीका लागि आवश्यक पर्ने गुणहरुको बारेेेमा जानकारी दिने उदेश्यले यो आलेख तयार पारिएको छ । जुन निम्नानुसार छन् :

१. ज्ञानको तिर्खा

कानूनलाई कहिलेकाहीँ एउटा निरस विषयको रूपमा चित्रण गरिन्छ । यद्यपि यो एउटा विविधताले भरिएको विषय हो, जसले हाम्रो जीवनको हरेक पक्षलाई प्रभाव पार्छ ।

यदि तपाईं आफ्नो वरपर संसारमा के भइरहेको छ भन्ने बारेमा चासो राख्नुहुन्छ र जान्न चाहनुहुन्छ भने कानून तपाईंका लागि उपयुक्त विषय हो ।

२. उत्कृष्ट सञ्चार सीप

राम्रो लेखन शैली र बोल्ने कला कानून अध्ययनका लगि अति नै महत्वपूर्ण छ । कानूनमा डिग्री हांसिल गर्दा परीक्षणको महत्वपूर्ण हिस्साको रूपमा लिखित परीक्षा नै रहेको हुन्छ ।

साथै, समूहगत छलफल र प्रस्तुतिकरण पनि अभिन्न अंगका रूपमा रहेका हुन्छन् । लिखित र मौखिक दुवैमा आफ्ना तर्क र विचार तपाईंले स्पष्ट, तार्किक र बुझिने तरिकाले राख्न सक्नुपर्छ ।

३. स्वअध्ययन

कानून अध्ययनमा सबैभन्दा चाहिने कुरा समर्पण हो । तपाईंलाई शिक्षकले सहयोग र मार्गदर्शन त गर्छन् नै, तपाईंले आफुले आफैंलाई अध्ययनका लागि अभिप्रेरित गर्नुपर्ने हुन्छ ।

अध्ययनका लागि सुरुवात गर्न ढिला गर्नुहुँदैन, समय व्यवस्थापन गर्न सिक्नुपर्छ र निर्धारित समयमै कार्य सम्पन्न गर्न सक्षम हुनुपर्छ ।

४. आपसी सहयोग

स्वतन्त्र रूपमा काम गर्ने क्षमताको विकास गर्दै गर्दा तपाईंले समूहको एउटा सदस्य बन्न पनि सिक्नु पर्छ । विश्वविद्यालयमा अनुभव गर्न पाउने प्रमुख कुरामध्ये यो पनि हो कि तपाईंले विभिन्न पृष्ठभूमिका धेरै भन्दा धेरै व्यक्तिसँग साक्षात्कार हुने मौका पाउनु हुन्छ ।

अध्ययनक‍ो दौरान कहिलेकाहीँ सहपाठीहरूको सानो वा ठूलो समूहमा बसेर काम गर्नु पर्ने हुन्छ । समूहले निर्धारण गरेका लक्ष प्राप्त गर्न तपाईंले रचनात्मक रूपमा योगदान दिन सक्नुपर्छ ।

५ . अनुसन्धान सीप

तपाईंका साथी र घरपरिवारले सोचेजस्तो कानूनको पढाइ सुरू गर्ने वित्तिकै कानूनका सबै कुरा जान्न सकिंदैन । यद्यपि सबै कुरा नजानेपनि तपाईंले आफुलाई आवश्यक परेका बखत चाहिने कुराहरु भने खोज्न जान्नुपर्छ ।

यसर्थ, कानूनी अनुसन्धान (Legal Research) तपाईंका लागि महत्वपूर्ण साधन हो । अध्ययनका स्रोतहरू पनि इलेक्ट्रोनिक भइरहेको वर्तमान समयमा कम्प्युटर सीप पनि आवश्यक पर्छ ।

६. व्यावसायिक जागरूकता

कानून अध्ययन पश्चात तपाईंका अघिल्तिर करियरका विविध विकल्प देखा पर्छन् । जब तपाईंले कानून व्यवसाय वा अरू कुनै क्षेत्र छनौट गर्नुहुन्छ, रोजगारदाताले तपाईंसँग व्यावसायिक क्षमता छ/छैन भनेर हेर्छन् ।

भनिरहन नपर्ला कि, ल फर्महरूले पनि अरू व्यवसायजस्तै नाफा कमाउनका लागि ग्राहकलाई आकर्षण गर्ने र आफैंसँग राख्ने काम गर्छन् । तसर्थ, व्यावसायिक रूपमा कसरी काम गर्ने र प्रतिस्पर्धामा खरो उत्रिने भन्ने कुरा जान्नु आवश्यक हुन्छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार