सफल वकिल बन्न हुनैपर्ने ७ गुणहरू

Law Hub Nepal कार्तिक २२, २०७७

ल हब नेपाल । एउटा सफल करियरका लागि केही गुण र सीपहरूको आवश्यकता पर्दछ, जुन कुराहरू समयक्रममा काम गर्दै जाँदा विकास पनि हुन्छन् ।

एउटा भनाइ छँदैछ, – “अभ्यासले मान्छेलाई पूर्ण बनाउँछ ।” तसर्थ, निरन्तरको अभ्यास र लगनशीलताले नै मान्छेलाई प्रचुर सम्भावनाहरू उजागर गरीदिन्छ । अनि सफलताको द्वार उघारीदिन्छ ।

हामी यस आलेखमा भने केही सीप र गुणहरूको बारेमा कुरा गर्दैछौं, जुन एउटा सफल वकिल बन्नका लागि नितान्त आवश्यक हुन्छन् :

१. राम्रो सञ्चार सीप

वकिलसँग प्रखर रूपमा बोल्न सक्ने क्षमता त हुनुपर्छ नै, राम्रो लेखन सीप र असल स्रोता बन्न सक्ने गुण पनि आवश्यक पर्छ । अदालतमा न्यायाधीश वा न्यायमूर्तिहरूको अघिल्तिर बोल्दा आफ्ना तर्कमा उनीहरूलाई कन्भिन्स गर्न राम्रो वक्तृत्व क्षमता चाहिन्छ ।

सञ्चार सीपको विकास अध्ययनका दौरान तपाईंले विश्वविद्यालयमा हुने क्रियाकलापमा सहभागी भएर विकास गर्न सक्नुहुन्छ ।

कानूनी सामग्री तयार पार्दा वकिलहरूले प्रष्ट र सटिक ढंगले लेख्न जान्नुपर्छ । साथै, क्लाइन्टका जटिल प्रकृतिका बयानलाई विश्लेषण गर्नुपर्ने हुँदा तीनलाई ध्यान दिएर सुन्ने बुझ्ने क्षमताको हमेशा खाँचो पर्दछ ।

२. निर्णय क्षमता

सीमित सूचनालाई विश्लेषण गरेर एउटा तार्किक निष्कर्ष निकाल्न सक्ने दक्षता भएको मान्छे नै वास्तवमा वकिल हो ।

आफुले निकालेका निष्कर्षलाई आलोचनात्मक रूपमा पनि विचार गर्न सक्षम हुनुपर्छ, ताकि आफ्नो तर्कमा कमजोरीको सम्भावित क्षेत्रहरूको अनुमान लगाउन सकियोस् र कमजोरी हटाएर अझ सुदृढ बनाउन सकियोस् ।

साथ‌ै, तपाईंले विपक्षका तर्कहरूमा रहेका कमजोरीहरू पनि पहिल्याउन सक्नुपर्छ । यसर्थ, निर्णय क्षमता न्यायको एउटा हिस्सा पनि हो ।

३. विश्लेषकीय क्षमता

कानूनको अध्ययन र अभ्यास दुवैले कानूनसँग सम्बन्धित सूचना र जानकारी उपलब्ध गराउँछ । यसै मेसोमा ती कुराहरूलाई व्यवस्थित र तार्किक बनाउन सिक्नुपर्छ ।

कुनै बेला एकै समयमा एक भन्दा बढी निष्कर्ष आउन सक्छ, अथवा कुनै एक परिस्थितिसँग मिल्ने एक भन्दा धेरै नजीरहरू हुन सक्छन् । हो, यस्तै अवस्थामा एक वकिलका रूपमा तपाईंले विश्लेषकीय क्षमताको प्रयोग गर्दै सबैभन्दा सुहाउँदो विकल्प छान्न सक्नुपर्छ ।

४. अनुसन्धान सीप

छिटो र प्रभावकारी ढंगले अनुसन्धान गर्ने क्षमता भएमा नै क्लाइन्ट्सको आवश्यकता बुझ्न सकिन्छ र कानूनी रणनीति तय गर्न सकिन्छ ।

कानूनी रणनीति तय गर्न ठूलो परिमाणमा सूचनाहरू खोज्न र बुझ्न सक्नुपर्छ र तिनलाई प्रशोधन गरेर उपयोगी बनाउन सिक्नुपर्छ ।

५. जनसम्पर्क

कानून कुनै अमूर्त अभ्यास हैन । तपाईंले विश्वविद्यालयमा जति नै राम्रो पढेपनि पढाइपछि जनसमक्ष काम गर्दा होस् वा उनीहरूको प्रतिनिधिको रूपमा काम गर्दा लिइने निर्णयले उनीहरूको जीवनलाई प्रभाव पार्न सक्नुपर्छ ।

क्लाइन्ट्ससँग राम्रो व्यवहार गर्ने, उनीहरूका समस्या बुझ्ने र सजिलै घुलमिल हुन सक्ने स्वभाव भएका वकिलहरूले नै करियरमा बढी सफलता पाउने सम्भावना हुन्छ ।

६. लगनशीलता

लगनशीलता लामो दौड होइन; बरू यो त एक पछि अर्को गरि आउने धेरै छोटा दौडहरूको समूचित रूप हो ।

वकील बन्नु पूर्व अध्ययनकै दौरान पनि लगनशीलता र प्रतिबद्धताको खाँचो पर्छ भने अध्ययन पश्चात् पनि अभ्यासको क्रममा निरन्तरता हुनुपर्छ ।

कुनै मुद्दामा काम गर्दै गर्दा तपाईंसँग काम पूरा गर्न र सफल गन्तव्यमा पुर्‍याउन लगनशीलता चाहिन्छ ।

७. सिर्जनशीलता

सफलतम् मानिएका वकिलहरूले तार्किक र विश्लेषकिय क्षमता मात्र नभई समस्या समाधानमा सिर्जनशीलता र रचनात्मकता पनि प्रदर्शन गर्दछन् ।

सबै भन्दा राम्रो समाधान सधैं सबैभन्दा स्पष्ट हुँदैन र तपाईंको चुनौतीलाई जित्नको लागि प्राय: बक्स बाहिर सोच्न आवश्यक हुन्छ ।

(अल अबाउट ल डट सीओ डट युकेमा सोफीया गिमरले लेखेको यो सामग्री ल हब नेपालले भावानुवाद गरेेको हो ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार