काठमाडौंमा राजतन्त्रको पक्षमा जुलुस नगर्न प्रशासनको आदेश, कारबाही गर्ने चेतावनी 

Law Hub Nepal मंसिर १६, २०७७

काठमाडौँ । राजतन्त्र र हिन्दू राज्य पुनः स्थापनाको माग गर्दै प्रर्दशन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, जुलुस, आन्दोलन, प्रर्दशन जस्ता गतिविधि गर्न रोक लगाएको छ।

काठमाडौँसहित देशका प्रमुख शहरमा २०४७ सालको संविधान पुनःस्थापित गर्नुपर्ने मागसहित प्रर्दशन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना महामारीको संक्रमण बढ्न सक्ने भन्दै सभा जुलुस गर्न रोक लगाएको हो।

राजतन्त्रको पक्षमा राष्ट्रवादी शक्तिले सोमबार जाउलाखेलदेखि नयाँ बानेश्वरसम्ममा जुलुस गरेको थियो। आउँदो शनिबार पनि राजतन्त्र पक्षहरुले राजधानीमा बृहत प्रर्दशनको तयारी गरेपछि प्रशासनले त्यस्ता गतिविधि नगर्न र गरे कारबाही गर्ने चेतावनी दिएको हो।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तै, सभा, जुलुस, प्रर्दशन र अभियान संचालन गरेको भन्ने सुचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिताई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संकामक रोग ऐन, २०२० को विपरित हुने भएकोले त्यस्ता भिढ भाडजन्य गतिविधिहरु नगर्न र नगराउन साथै महामारी रोकथाममा सहयोग पुल्याउनुहुन् सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ।’

प्रशासनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा नेकपाका कार्यकर्ता सडकमा उत्रिदा भने कुनै हस्तक्षेप गरेको थिएन। हेर्नुहोस् सूचना :

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार