डियगो म्याराडोना : दक्षिणी विश्वका ‘कमरेड’ !

Law Hub Nepal मंसिर ११, २०७७

महान फुटबलरका रूपमा जति उनलाई सम्झना गरिनेछ, त्यति नै शक्तिका विरूद्ध लड्ने र आवाज विहिनको आवाज बन्ने उनको स्वभावका लागि गरिनेछ ।

ल हब नेपाल । फुटबलका भगवान डिएगो म्याराडोनाको निधनले सिङ्गो विश्व स्तब्ध छ । म्याराडोनाले आफ्नो समयमा यस्ता अद्भुत खेलहरू पस्किए, जसले सबै प्रकारका कविता र गद्यलाई समेत प्रेरणा दिन्छ । म्याराडोनाका कुशलताबारे सबैभन्दा राम्रो वर्णन एडुयार्डो ग्यालिनोले उनको किताब ‘सकर इन सन एन्ड श्याडो’मा यसरी गरेका छन् :

‘कसैले पनि अन्दाज गर्न नसक्ने ट्रिकहरू सृजना गर्ने उनी आश्चर्यका आविष्कारक हुन् । उनी छिटो छैनन्, तर जब उनले आफ्नो खुट्टामै सिलाइएको जस्तै देखिने गरि बल बोक्छन्, उनको आँखा नै शरीरभरि आउँछ । उनको एक्रोब्याटिक्सले मैदानलाई उज्यालो पार्छ । शताब्दीको अन्त्यतिरको फुटबल जगतमा उनले पराजयलाई घृणा गरे र रमाईलो गर्न निषेध गरे । म्याराडोना थोरै मानिस मध्ये एक थिए, जसले प्रमाणित गरिदिए कि कल्पना पनि यथार्थमा परिणत हुन सक्छ।’

म्याराडोनाको हृदयघातका कारण ६० बर्षको उमेरमै निधन भयो, जुन विभिन्न कारणले अपेक्षित जस्तै मानिन्छ । उनले कोकिन लगायत ड्रग्सको कुलत र दुर्व्यसनीयुक्त जीवन बिताए । म‍ोटोपनसँगै मुटुरोगले पनि गाँजेका उनी पछिल्लो समय अस्वस्थसमेत थिए ।

उत्कट अभिलाषी र तीव्र विद्रोही जीवन बाँचेका म्याराडोना सदैव साम्राज्यवादका विरूद्ध उभिए, सदैव ल्याटिन अमेरिका र दक्षिणी विश्वका जनताका पक्षमा आवाज मुखरित गरे ।

उनी बालबच्चाको पालनपोषण र वृत्तिविकासका सवालमा बोलीरहन्थे, किनभने व्युनस आयर्सको भिल्ला फियोरीटो बारियोमा गरिबीले गाँजेको आफ्नो बाल्यकाल उनलाई हमेशा याद हुन्थ्यो ।

उनी बाबुआमाका आठ सन्तान मध्ये पाँचौ थिए । पानी, विजुलीबिना बिताएको बाल्यकाल उनले कहिलै बिर्सेनन् । उनी आफुले भोगेको जस्तो बाल्यकाल अरुले भोग्न नपरोस् भन्ने चाहन्थे । उनी विशाल मनका धनी थिए ।

म्याराडोना राजनीतिक धारणाहरू व्यक्त गर्न कहिलै पछि परेनन्, चाहे ती जोखिमयुक्त किन नहोउन् ।

उनले एकपटक पोप जोन पल द्वितीयलाई भेटिसकेपछि पत्रकारहरूसँग भनेका थिए : ‘ म भ्याटिकनमा थिएँ, जहाँ मैले सुनका छानाहरू देखेँ । पोपले मसँग गरिब बच्चाको वृत्तिविकासका लागि चर्च चिन्तित भएको बताए ।’ उनले पोपको भनाइलाई लक्षित गर्दै भनेका थिए, ‘त्यसो भए सुनको छाना बेच न त । केही त गर ।’

म्याराडोना जहिलेपनि उत्पीडित उपेक्षितका पक्षमा उभिए, विशेषगरी प्यालेस्टाइनका जनताका पक्षमा । उनीहरूप्रति ऐक्यबद्धता जनाउँदै र उनीहरूलाई कहिलै नबिर्सने विश्वास दिलाउँदै म्याराडोनाले सन् २०१८ मा ‘मेरो मनमा, म प्यालेस्टाइन हुँ’ भनेका थिए ।

उनी गाजामा इजरायली हिंसाका आलोचक थिए । सन् २०१५ को एएफसी एसियन कपमा त उनी प्यालेस्टाइनको नेसनल टिमको कोच नै बनेको हल्लासमेत चलेको थियोे ।

म्याराडोनाले कम्युनिस्ट नेता फिडेल क्यास्ट्रो र महान क्रान्तिकारी वीर चे ग्वेभाराको त ट्याटु नै खोपेका थिए । चेलाई म्याराडोना आदर्श मान्थे, उनको विचार पछ्याउँथे ।

दुर्व्यसन र मोटोपनको सिकार भएर बिरामी भएको आफुलाई बचाएकोमा उनले क्युवान स्वास्थ्य प्रणालीलाई श्रेय दिन्थे । भेनेजुयलाका नेता ह्यगो चाभेजले सम्पत्तिको पूनर्वितरण र गरिबलाई शिक्षा दिने जस्ता क्रान्तिकारी कदम चाल्दा म्याराडोनाले चाभेजको समर्थन गरेका थिए ।

उनी बुस शासनका कट्टर विरोधी थिए । इराक युद्धका बेला त बुसलाई युद्ध अपराधी भन्दै टिसर्ट नै छपाएका थिए । एकपटक त उनले यसो पनि भने : ‘म संयुक्त राज्य अमेरिकाबाट आउने हरेक कुरा घृणा गर्छु । म मेरो दमले भ्याएसम्म घृणा गर्छु ।’ यही भावनाले उनलाई अमेरिकी दमनमा परेका करोडौं मानिसहरूको नायक बनाइदियो ।

उनको निधनपछि पनि अब धेरैले उनको चमत्कारिक प्रदर्शनको बारेमा लेख्नेछन्, विश्वकपमा उनले देखाएको अभूतपूर्व प्रतिभाको चर्चा चल्नेछ । इंग्ल्यान्डविरूद्ध ‘भगवानको हातबाट’ भएको गोल झन् सदा स्मरणीय रहनेछ । त्यसै खेलमा मैदानको बीचभागबाट बुटमै टाँसिएको झैँ देखिने गरि बल लगेर गरेको गोल पुस्तौंपुस्तासम्म चर्चाको विषय बन्नेछ ।

केहीले उनको खराब प्रवृत्तिबारे पनि लेख्ने छन्, उनका दुख र वेदनाको चर्चा पनि चल्नेछ । कुलत र दुर्व्यसनीले एक महान खेलाडीको गाथामा दाग लागेको कुरा इतिहासको भित्तामा मेटिने छैन ।

तर अहिलेलाई भने अन्याय र असमानताविरूद्ध आगो ओकल्ने एक विद्रोही, कमरेड, महान फुटबलर डियगो म्याराडोनाप्रति हार्दिक श्रद्धासुमन ।

(डेभ जिरिनले नेशन म्यागजिनमा लेखेको यो आलेख ल हब नेपालले भावानुवाद गरेको हो ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार