नेपालमा यी ६ वटा कसुर गर्नेलाई हुन्छ आजीवन कैद सजाय

Law Hub Nepal श्रावण ८, २०७७

ल हब नेपाल । नेपालको कानूनमा गम्भीर प्रकृतिका ६ वटा अपराधमा कसुरदारलाई आजीवन कैद सजाय हुने व्यवस्था रहेको छ ।

नेपालको प्रचलित कानूनमा सबैभन्दा ठूलो सजायको रूपमा रहेको जन्मकैदलाई दुई किसिममा छुट्याउन सकिन्छ । एउटा – कसुरदार जीवित रहेसम्म हुने जन्मकैद, र अर्को – २५ वर्ष कैद सजाय गणना हुने जन्मकैद ।

कसुरदार जीवित रहेसम्म हुने कैदलाई नै बोलीचालीको भाषामा आजीवन कैद वा आजन्म कैद पनि भन्ने गरिन्छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ मा सजाय र क्षतिपूर्ति सम्बन्धी व्यवस्था अन्तर्गत दफा ४१ मा कसुरदार जीवित रहेसम्म कैद सजाय हुने कसुरहरू सूचीकृत गरिएको छ, जुन निम्नानुसार छन् :-

क) क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,

ख) वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको,

ग) अपहरण गरेको वा शरीर बन्धक लिई ज्यान मारेको,

घ) सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,

ङ) कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उदेश्यले कसुर गरेको वा

च) जबर्जस्ती करणी गरी ज्यान मारेको ।

यी माथि उल्लिखित ६ वटा कसुरमा कसुरदार जीवित रहेसम्म वा आजीवन कैद बस्नुपर्ने हुन्छ । यी बाहेक अन्य कसुरमा पनि कानूनमा जन्मकैद हुने व्यवस्था छ । ती कसुरमा जन्मकैदको सजाय गर्दा २५ वर्ष कैद सजाय गणना गर्नुपर्ने दफा ४२ मा उल्लेख गरिएको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार