सवारी चालक लाइसेन्स लिने उमेर बढाइँदै, टुटल पठाओलाई कानूनीरुपमा ल्याउने तयारी

Law Hub Nepal माघ २७, २०७६

काठमाडौं । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम उमेर १८ वर्ष  पुरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागले  जनाएको छ ।

हाल सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ ।

विभागले लाइसेन्सको नवीकरण समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ ।

अहिले पाँच वर्षमा  नवीकरण गर्नुपर्ने प्रावधान छ, जुन सेवाग्राहीले झन्झटिलो भन्दै आएका छन् ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनले बताउने गरेका छन् ।

यसै कुरालाई मध्यनजर गरी निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो ।

सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।

चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागले बताएको छ ।

टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओलाई कानूनीरुपमा ल्याउने तयारी गरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार