कविता : नाजवाफ सरकार

Law Hub Nepal असार २, २०७७
  • सन्दिप गिरी ।

दबिएकै सोझा निमुखालाई खोज्छन् अझैं दबाउन
दिंदैनन् समानताकै नाममा दलितलाई मुन्टो उठाउन

बेकसुर पनि दोषी ठानिन्छन् दोष बिना पनि
अधिकारको हत्या गरि मौन छ राज्यसत्ता पनि

प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रकै लागि लड्यौं सधैभरी
परिवर्तनको शङ्ख बजाउने होला अब खै के गरि ?

सम्झौता गरेकै छन् सर्वहाराले आफ्नै जिन्दगीसित
रबाफ देखाएरै पुंजिपतिले खाएकै छन् मजासित

लोकतन्त्रमै करोडौंका गाडी कार्पेट सजाएकै छन् दरबारमा
पिसिआर नभएरै मान्छे मरेको खबर छापिएका छन् अखबारमा

त्यान्द्रोमा झुन्डिएझैं छ अहिले विश्वको परिस्थिति
हारेको जुवाडे जस्तै भएको छ हाम्रो देशको स्थिति

क्रियाकै भरमा प्रतिक्रियाका आशावादीहरु पनि
बिर्सने रहेछन् राष्ट्रियतामा भएको गद्दारी पनि

धुम्मिएको छ आकाश राष्ट्रियता र नागरिकको शोकमा
देखेनन् क्षुद्र तानाशाहीले सडकमै मान्छे मरेको भोकमा

सडकमै उत्रिएका छन् जनता सारा मतलबै गरिएन तर
सरकार किन मौन ? चाहियो अब चित्तबुझ्दो उत्तर

न्याय कानुन आफै भए मच्चाए अराजकता पनि
रावणहरुद्वारा शासन गरियो रामराज्यमाथि पनि

कहाँ गए सत्ता पाउन भनी गाएका ती मार्क्सका मन्त्र !
आजको अत्याचार दमनले घुडा टेक्न बाध्य भो लोकतन्त्र

आन्दोलन गर्नुपर्दछ अब हुन्छन् पुत्ला दहन पनि
दिदैंनौं अब हामी गरिब असाहयको आँसु बहन पनि

बदलिन्छन् छेपारो झैं के नै गर्नु विकासका कुरा
भो विरोधाभास नगरौं असहाय छ सरकार विचरा ।

गिरी पृथ्वीनारायण क्याम्पस पोखरामा बिएएलएलबि द्वितीय सेमेस्टरमा अध्ययनरत छन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार