मानव अधिकारको प्रथम दस्तावेज मानिने म्याग्नाकार्टा के हो ? यसमा के व्यवस्था गरिएको छ ?

Law Hub Nepal जेठ २१, २०७७

ल हब नेपाल । म्याग्नाकार्टा बेलायती जनताको नागरिक अधिकार प्रत्याभूति गर्ने प्रथम लिखित दस्तावेज हो । बेलायतको संवैधानिक इतिहासमा म्याग्नाकार्टालाई स्वतन्त्रताको बडापत्र पनि भनिन्छ ।

‘म्याग्नाकार्टा’ ल्याटिन भाषाको शब्द हो । यसलाई ल्याटिन भाषामै लेखिएको थियोे । यसको अर्थ ‘महाधिकारपत्र’ भन्ने हुन्छ । यो चर्मपत्रमा लेखिएको थियो । यसले विश्वमा मानव अधिकारको प्रथम दस्तावेजको उपमा समेत पाएको छ ।

‘बाइबल अफ इंग्लिस कन्स्टिच्युसन’ भनेर म्याग्नाकार्टालाई भनिन्छ । यसको आधिकारिक अंग्रेजी नाम ‘Article of the Barons’ हो । म्याग्नाकार्टाका साथै बिल अफ राइट्स (१६८९) र पेटिसन अफ राइट्स (१६२८) लाई बृटिश संविधानका बाइबल भनेर नाम दिने व्यक्ति पिट द एल्डर हुन् ।

म्याग्नाकार्टा जनताको विद्रोहको उपज हो । धार्मिक मामिलामा हस्तक्षेप र स्वेच्छाचारीतापूर्वक कर उठाउने राजाको कदम विरूद्ध पोपको नेतृत्वमा जनताले विद्रोह गरेका थिए । परिणामस्वरूप राजा जोन द्वितीयले १५ जुन १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गरे ।

म्याग्नाकार्टामा हस्ताक्षर हुनुलाई जनताको विजयको नाम दिइएको थियो । ब्यारोन पादरीहरूले म्याग्नाकार्टाको मस्यौदा तयार पारेका थिए । १२१३ मै यसको मस्यौदा गरिएको थियोे । यसका लेखक Stephen Langton थिए ।

म्याग्नाकार्टा बेलायती जनताको नागरिक अधिकार प्रत्याभूति गर्ने प्रथम लिखित दस्तावेज हो । यसलाई बेलायतको संवैधानिक इतिहासमा स्वतन्त्रताको बडापत्र पनि भनिन्छ । यसले विश्वमा मानवअधिकारको प्रथम दस्तावेजको उपमा समेत पाएको छ ।

रन्नीमेड भन्ने ठाउँमा Thames नदिको किनारमा बसेर म्याग्नाकार्टामा हस्ताक्षर गरिएको थियो । रन्नीमेड लन्डनदेखि दक्षिण- पश्चिमतर्फ १९ माइल टाढा पर्दछ । म्याग्नाकार्टामा ६३ धारा थिए ।

राजाले आफैंले हस्ताक्षर गरेको म्याग्नाकार्टाको पालना गरेनन्, फलस्वरूप ब्यारोन्सहरूले राजालाई गद्दीबाट हटाए र फ्रान्सका लुई आठौंलाई राजा बनाए । लुई आठौंलाई King of England पनि भनिन्छ ।

१९ अक्टोबर १२१६ मा जोन द्वितीयको मृत्यु भयो । उनको मृत्युपछि लुई आठौंलाई गद्दीच्यूत गरी जोन द्वितीयका छोरा हेनरी तृतीयलाई राजा बनाइयो । १२१६, १२१७ र १२२५ गरी तीनपटक म्याग्नाकार्टालाई संशोधन गरी राजा हेनरी तृतीयले पूर्णता दिएका थिए । ११ फेब्रुअरी १२२५ को म्याग्नाकार्टालाई फाइनल म्याग्नाकार्टा भनिन्छ ।

म्याग्नाकार्टाले कानूनको शासन, संसदको प्रभुत्व र न्यायीक निष्पक्षताको जग बसाल्नुको साथै सम्पत्तिको अधिकारलाई आत्मसात् गर्दै अनुचित करलाई नियन्त्रण गरेको थियो । म्याग्नाकार्टाको परिणामस्वरूप प्रचलनमा आएको पहिलो असाधारण क्षेत्राधिकार (रिट) बन्दीप्रत्यक्षीकरण (सन् १६७९) हो, जुन म्याग्नाकार्टाको धारा ३९ सँग सम्बन्धित छ ।

म्याग्नाकार्टाको चारवटा मूल प्रति हालपनि सुरक्षित छन् । जसमध्ये दुई प्रति लण्डनस्थित बृटिश लाइब्रेरीमा, एक प्रति Salisbury cathedral मा र अर्को एक प्रति Lincoln cathedral मा रहेका छन् ।

म्याग्नाकार्टाले गरेका प्रमुख व्यवस्थाहरू :

  • राजाले संसदको अधिवेशन नियमित बोलाउनुपर्ने,
  • ऐन पारित गर्ने अधिकार संसदलाई हुने,
  • संसदको स्वीकृतिविना राजाले कर उठाउन नपाउने,
  • सेनाका लागि चाहिने आर्थिक व्यवस्था संसदद्वारा निर्धारित गरिने,
  • कानून र सोको उचित प्रक्रियाविना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुन्न र देशनिकाला गर्न नपाइने,
  • कुनै पनि व्यक्तिलाई कानूनले तोकेभन्दा बढी सजायको भागीदार नबनाइने साथै कसैलाई मृत्युदण्ड नदिइने,
  • लण्डन तथा अन्य शहरहरूमा आफ्ना प्रथाहरू सञ्चालन गर्न पाउनुका साथै चर्चलाई स्वायत्तता प्राप्त हुने,
  • न्याय दिनमा ढिलाइ एवं इन्कार नगरिने,
  • विधवालाई पुनः विवाह गर्न बाध्य नपारिने,
  • जनतालाई व्यक्तिगत सम्पत्तिको अधिकार, व्यक्तिगत स्वतन्त्रताको अधिकार, जथाभावी सजायविरूद्धको अधिकार साथै स्वतन्त्र र निष्पक्ष पूर्पक्षको अधिकार प्राप्त हुने ।

म्याग्नाकार्टाको धारा १ मा चर्चको स्वायत्ततासम्बन्धी कुरा छ । धारा २८, ३० र ३१ मा वैयक्तिक सम्पत्तिको प्रत्याभूति गरिएको छ । धारा ३८, ३९ र ४० मा व्यक्तिगत स्वतन्त्रता र अधिकारको वर्णन गरिएको छ । धारा ३९ मा प्रत्येक व्यक्तिलाई कानून अनुसार नै दण्ड दिइने कुरा उल्लेख छ ।

धारा ४० मा ‘हामी (राजाले) कसैलाई पनि अधिकार र न्याय बेच्ने छैनौं, न्याय प्रदान गर्ने काममा पनि ढिलाइ गर्ने छैनौं र न्याय दिन इन्कार गर्ने छैनौं’ भन्ने कुरा उल्लेख छ । धारा ५४ मा राजाले कानून जान्नु र मान्नु पर्दछ भनिएको छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार