मुलुकी देवानी संहिता ०७४ मा विवाह सम्बन्धी व्यवस्था

Law Hub Nepal माघ १६, २०७६

पुरुष र महिलाको उमेर बीस वर्ष पूरा भएको हुनुपर्ने

  • विवाह गर्नको लागि पुरुष र महिलाको उमेर बीस वर्ष उमेर पूरा भएको हुनुपर्छ सो उमेर पूरा नभइ विवाह भएमा कानून बमोजिम सजाय गर्न र विवाह बदर गराउन सकिने,
  • बीस वर्ष उमेर पूरा भएका हाडनातामा नपर्ने अविवाहित पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्न मन्जुर गरेमा विवाह हुन सक्ने,
  • जुनसुकै किसिमबाट भएको विवाह सार्वजनिक गर्नु गराउनु पर्ने,
  • दर्ता विवाह (कोर्ट म्यारिज ) दर्ता गरेर विवाह गर्दा जिल्ला अदालतबाट गराउनु पर्ने ।

विवाह भएको मानिने अवस्थाः

  • कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा,
  • पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा,
  • अदालतमा दर्ता गरी विवाह गरेकोमा,

विवाह पछिको थर

  •  विवाहिता महिलाले विवाह पछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्ने,
  •  विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिने,
  • पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्ने ।

वैवाहिक सम्बन्धको अन्त्य र पुनः विवाह

वैवाहिक सम्बन्धको अन्त्य भएको मानिने अवस्था र पुनःविवाह गर्न पाउने अवस्था

  • विवाह स्वतः बदर भएकोमा,
  • विवाह बदर गराएमा,
  • कानून बमोजिम पति पत्नीबीच सम्बन्ध विच्छेद भएकोमा,
  • पतिले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्काे विवाह गरेमा ।
  • पति र पत्नी विचको वैवाहिक सम्बन्ध अन्त्य भएकोमा,
  • पति वा पत्नीको मृत्यु भएकोमा,
  • पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा ।

विवाहको परिणाम

  • वैवाहिक सम्बन्ध कायम रहेका दम्पति एक अर्काको पति र पत्नीको रुपमा रहेको मानिने, पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्ने,
  • पति वा पत्नी वा परिवारका सदस्यले एक अर्कालाई निजको सीप, योग्यता वा क्षमता अनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने,
  • आपसी समझदारीबाट छुट्टै वासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम हुने ,
  • सामान्य घर व्यवहारको काममा पति वा पत्नी एक अर्काको प्रतिनिधि मानिने।

आपसी सहमतिमा घर व्यवहार चलाउनु पर्ने

  • पति पत्नीले एक अर्कालाई आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु गराउनु पर्ने,
  • एकासगोलका पति पत्नीले आफ्नो सम्पत्ति, आम्दानी तथा हैसियत अनुरूप आपसी सहमतिको आधारमा घर व्यवहार चलाउनु पर्ने,
  • पति र पत्नीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक अर्काको मञ्जुरी लिनु पर्ने ।

सम्बन्ध विच्छेद गर्न लाग्ने अवधि

  • सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिनु पर्ने,
  • पति र पत्नीले मेलमिलाप गर्न मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिने ।

पतिले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था

  • पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
  • पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
  • पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
  • पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।

पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था

  • पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी  समयदेखि अलग बसेमा,
  • पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
  • पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
  • पतिले अर्को विवाह गरेमा,
  • पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
  • पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

विवाहित पतिबाट जन्मिएको अनुमान गरिने

  • अन्यथा प्रमाणित भएकोमा बाहेक विवाह भएको मितिबाट एक सय असी दिन पछि र पतिको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिबाट दुई सय बहत्तर दिनभित्र जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको अनुमान गरिने,
  • पति पत्नी बीच अन्यथा सहमति भएको वा विवाह गर्नु अगाडि कुनै महिला गर्भवती भएको थाहा पाएर वा थाहा पाउनु पर्ने मनासिब कारण भई कुनै पुरुषले त्यस्तो महिलासँग विवाह गरेकोमा बाहेक विवाह भएको एक सय असी दिन अगाडि नै पत्नीबाट जन्मिएको शिशुको पितृत्वलाई पतिले र त्यस्तो शिशुको जन्म हुनु अगाडि नै पतिको मृत्यु भइसकेको रहेछ भने निजको हकवालाले इन्कार गर्न सक्ने ।

पितृत्व वा मातृत्वको दाबी

  • पितृत्व वा मातृत्वको ठेगान नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको मितिले दुई वर्षभित्र गरिसक्नु पर्ने,
  • पितृत्वको ठेगान नभई जन्मिएको शिशुको पितृत्व दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको मितिले दुई वर्षभित्र गरिसक्नु पर्ने ।
  • कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिने
  • पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिने र सोही बमोजिम निजको पितृत्व निर्धारण हुने ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार