नेपाली सेना भन्छ : ‘स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउँँछौं’

Law Hub Nepal चैत्र २३, २०७६

काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाउने दावी गरेको छ ।

खरिदको जिम्मा संगठनलाई दिने निर्णयबारे भइरहेको टिप्पणीप्रति पनि सेना सचेत रहेको प्रक्रिया दिएको छ ।

सरकारले हालै मात्र स्वास्थ्य सामाग्रीहरु खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो, तर यसको चौतर्फी आलोचना भइरहेको छ ।

आइतबार दिउँसो पत्रकारहरुसँग भिडियो कन्फरेन्स गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको बताए ।

उनका अनुसार सेनासहित विभिन्न निकाय रहेको ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ले खरिद गर्न आवश्यक सामग्रीको सूची तयार पार्ने काम गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरमा विभिन्न मन्त्रालयसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको पनि प्रतिनिधित्व छ । त्यसैले यो सेनाले मात्र नभइ, सबै निकायले पाएको जिम्मेवारी भएको उनले सुनाए ।

‘जिम्मेवारीबाट पछि हट्दैनौं’

सैनिक प्रवक्ता पाण्डेले कोभिड–१९ को स्थानीय संक्रमण देखिएको सन्दर्भमा सेना आफूलाई प्राप्त जिम्मेवारीबाट पछि नहट्ने समेत बताएका छन् ।

साथै जिम्मेवारी पूरा गर्ने क्रममा आउन सक्ने आक्षेप र चुनौतिलाई बुझेको उनले बताए । उनले खरिद प्रक्रियामा कुनै दुविधा र शंका नरहोस् भनेर परीक्षणका लागि छुट्टै संयन्त्र तयार गरेको बताए ।

उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि विभिन्न छिमेकी राष्ट्रसँग प्रस्ताव गरिनेछ । उनलेसम्बन्धित मुलुक र दूतावासलाई गुणस्तरको विषयमा जवाफदेही बनाउने गरी सर्त राखिने समेत बताए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार