वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस, कुलमान नियुक्तिको प्रस्ताव  मन्त्रिपरिषद्मा पुगेन

Law Hub Nepal भाद्र २९, २०७७

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ ।

नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन ।

मन्त्री भट्टराईले बैठकमा यससम्बन्धि प्रस्ताव नै नआएको बताए । उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रालयमा लैजाने तयारी गरेको उनको सचिवालयले बताएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार