मुटकोर्ट किनबेचप्रति अनेरास्ववियुको ध्यानाकर्षण, विद्यार्थी स्वयंले नलेखे फेल बनाउन सकिने

Law Hub Nepal असार २६, २०७७

काठमाडौं । मुटकोर्ट किनबेच भइरहेको भन्दै अनेरास्ववियु नेपाल ल क्याम्पस कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।

एलएलबी द्वितीय वर्षमा ५० अंकको मुटकोर्ट विद्यार्थी स्वयंले नलेखे शुन्य अंक दिएर फेल बनाउने अभ्यास रहेको भन्दै त्यसो नगर्न अनेरास्ववियुले अपील गरेको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै क्याम्पस कमिटीले मुटकोर्ट प्रयोगात्मक परीक्षा भएको र विद्यार्थीले सो विषयमार्फत अदालती लिखत तथा अदालती अभ्यासको ज्ञान राख्ने र सो को अभ्यास समेत हुने हुँदा महत्त्वपूर्ण रहेको बताएको छ ।

मुटकोर्ट हस्तलिखित बुझाउनु पर्ने र मौखिक परीक्षामा विद्यार्थी आफैंले लेखे/नलेखेको पत्ता लगाउन अक्षरसमेत परीक्षण गरिने पनि जनाइएको छ ।

‘पछिल्ला दिनमा ल क्याम्पसका केही विद्यार्थी र पूर्व विद्यार्थीले केही हजार पैसा लिई विद्यार्थीको मुटकोर्ट लेखिदिने गरेको र सामाजिक सञ्जाल र फोनमार्फत यति रूपैयाँमा लेखिदिने भनी विज्ञापन गरि सो को मोलतोलसमेत गर्ने गरेको पाइएकाले अनेरास्ववियु ल क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

मुटकोर्ट किनबेच अनैतिक र गैरकानूनी भएकोले सो नगर्न, नगराउन सबैलाई अनुरोधसमेत गरिएको छ । किनबेचमा संलग्नलाई पहिचान गरि आवश्यक कानूनी एवं संस्थागत कारबाही गर्नसमेत क्याम्पस प्रशासनलाई आग्रह गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार