पूर्वसचिव कार्की पत्नीको कामदारबाटै हत्या भएको पुष्टि

Law Hub Nepal माघ २७, २०७६

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पुष्टि भएको छ।

सिसिटिभी फुटेजमा चौधरीले पिर्काले हानेर कार्कीकी श्रीमती मुना कार्कीको हत्या गरेको देखिएको हो ।

हत्यापछि चौधरीले आफैंले आत्महत्यासमेत गरेको सिसिटिभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।

सोमबार घरमा कोही पनि नभएको अवस्थामा चौधरीले मुनामाथि आक्रमण गरेका थिए ।

आक्रमणपछि भने उनी आफैंले समेत नाइलनको डोरीको पासो लगाएर आत्महत्या गरेका थिए ।

मुना अचेत अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन् । उनको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।

आक्रमणको कारणबारे प्रहरीले केही बताएको छैन ।

पूर्वसचिव कार्की पूजा गर्न पशुपति गएका थिए भने घरमा रहेकी अर्की कामदारसमेत कार्कीका छोरालाई विद्यालय पुर्‍याउन गएकी थिइन् ।

त्यही मौका छोपेर हत्या भएको प्रहरीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार