नेपालको झण्डा जलाउनेलाई के सजाय हुन्छ ? मुलुकी अपराध संंहितामा यस्तो छ व्यवस्था

Law Hub Nepal भाद्र २, २०७७

काठमाडौं । नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा सार्वजनिक भएलगत्तै आलोचित बनेको छ ।

यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग समेत गरेका छन् ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो ।

उक्त भिडियोमा एकैपटक दुईवटा अपराध गरेको देखिएको कार्कीले बताए। पहिलो गीतमा जातजातीबीचको सम्बन्धलाई बिगारी साम्प्रदायिकता फैलाउने खालका शब्द प्रयोग भएको छ।

बाहुन–क्षेत्रीलाई आदिबासीको ‘दुश्मन’ का रुपमा प्रस्तुत गरिएको गीतको नाम ‘देशद्रोही’ रहेको छ। ‘मंगोल होप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा बाहुन–क्षेत्रीलाई शरणार्थीको संज्ञा दिँदै देशै छाडेर जान धम्की दिइएको छ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्बिर पनि जलाइएको छ।उक्त कार्य मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) विरुद्धको कसुर देखिएको छ। त्यसमा लेखिएको छ,

  ‘…जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायीक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षडयन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन।’

यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

त्यस्तै दोस्रो, भिडियोमा नेपालको झण्डा अर्को अपराध गरेको देखिन्छ। राष्ट्रिय झण्डा जलाउने कार्य ‘राष्ट्रिय तथा सार्वजनिक सम्पदा बिरुद्धका कसूर’ अन्तरगत राखेर मुलुकी अपराध संहिताले जेलसम्मको सजाय हुने व्यवस्था गरेको छ।संहितको दफा १५१ को उपदफा १ मा उल्लेख गरिएको छ,

‘नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन’ भन्ने कानुनी व्यवस्था गरेको छ।

यसरी नेपालको झण्डा जलाउनेलाई सोही ऐनले तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था गरेको छ।

दफा १५१ को उपदफा (२) लेखिएको छ, ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार? पैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

यसरी उक्त भिडियो बनाउने र त्यसमा अभिनय गर्नेलाई दुवै कसुरमा कारबाही हुन सक्ने अवस्था छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार