ओली र प्रचण्डले विज्ञप्ति जारी गर्दै भने : भारतले नेपालको सार्वभौमसत्ता ‘अन्डरमाइन’ गर्‍यो 

Law Hub Nepal वैशाख २७, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले भारतले नेपालको भूमिमा सडक बनाएको विषयमा विज्ञप्ति जारी गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै भारतले नेपालको सार्वभौमसत्ता ‘अन्डरमाइन’ गरेको बताएका छन् ।

नेपाल र भारतबीच सार्वभौम समानता, भौगोलिक अखण्डता, आपसी हित र सम्मानको आधारमा असल छिमेकीको सम्बन्ध कायम हुने कुरामा नेकपाले विश्वास गर्ने कुरा विज्ञप्तिमा उल्लेख छ ।

भारतले एकतर्फी रुपमा सुरु गरेको सडक निर्माण कार्य दुई देशका सरकारले उच्च तहमा गरेको उच्चस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति विपरित रहेको नेकपाले बताएको छ ।

पार्टीले तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल बनाउने गतिविधि रोक्न भारतलाई आग्रह गरेको छ ।

सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

दुई देशबीचको लामो मैत्रिपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै सरकारले कुटनीतिक पहल र वार्ताको माध्यमबाट सीमा विवाद समाधानका लागि गरेको पहलको नेकपाले समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपाले सीमा विवाद समाधान गर्नका लागि नेपाल र भारत सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह पनि गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार