बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत छुटे ज्ञानेन्द्र शाही

Law Hub Nepal वैशाख १६, २०७७

काठमाडौं । सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न ललितपुर प्रहरीका नाममा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको छ ।

न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले बिनाकारण शाहीलाई पक्राउ गरिएको भन्दै उक्त आदेश जारी गरेको हो ।

‘तारिखमा राखेर पनि बाँकी अनुसन्धान हुनसक्ने अवस्था हुँदाहुँदै कानुनबमोजिम प्रक्रिया नै पूरा नगरी थुनामा राख्नुपर्नेसम्मको कारण नदेखिएबाट’ आदेशमा भनिएको छ, ‘नागरिकले केही कुरामा असहमति जनाउनु र आफ्नो कुरा व्यक्त गर्नु आफैंमा विचारणीय प्रश्न रहेको अवस्थामा यी निवेदकलाई थुनामुक्त गरिदिनु ।’

२०७७ वैशाख ९ गते महानगरीय प्रहरी वृत्त चापगाउँको टोलीले शाहीलाई जरुरी पक्राउ पूर्जी दिई थुनामा राखेको थियो । उनलाई पक्राउ पूर्जी दिँदा प्रहरीले संक्रामक रोग ऐन, २०२० सम्बन्धी कसुर गरेकाले पक्राउ पुर्जी जारी गरिएको उल्लेख थियो । तर म्याद थप हुँदा भने अभद्र व्यवहारमा कसुर गरेको भनी म्याद थप गरेको थियो।

सर्वोच्चले उनलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने कारण, अवस्था खुलेको नदेखिएको भन्दै म्याद थप गर्ने, जिल्ला अदालतले पनि म्याद थप गर्नुपर्ने, थुनामा राख्नुपर्ने उचित कारण पर्चा खडा भएको नखुलेको भन्दै थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार