एसईई परीक्षा : अनिवार्यको बोर्डले र ऐच्छिक विषयको विद्यालयले लिने विकल्प प्रस्तुत

Law Hub Nepal वैशाख २९, २०७७

काठमाडौँ । प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले यस्तो प्रस्ताव बुझाएको हो ।

शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तक्र्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सो कार्यटोलीका संयोजक प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षालाई सहजरूपमा सञ्चालन गर्न यस्तो प्रस्ताव मन्त्रालयसमक्ष बुझाइएको जानकारी दिए ।

उनले भने, “विकल्प दिएका छौँ । त्यसमध्ये एउटा विकल्पका रूपमा अनिवार्य विषयको बोर्डले र ऐच्छिक विषयको विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्थाको प्रस्ताव गरेका हौँ तर त्यसका लागि राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।” सो परिषद् शिक्षा मन्त्रीको अध्यक्षतामा रहने प्रावधान छ ।

उनले एसईई, कक्षा ११ र १२ को परीक्षा नहुने वा आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र जारी गरिने जस्ता भ्रम सुनिएको चर्चा गर्दै ती सबै गलत कुरा भएको प्रस्ट गरे ।

उनले भने कानुनले परीक्षा लिनुपर्दछ भनेको छ । हामी कानुनभन्दा बाहिर जान सक्दैनौँ । त्यसैले सरकारले हामी अब सुरक्षित छौँ भनेर घोषणा गरेपछि परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा सञ्चालन गर्नुअघि तयारीका लागि विद्यार्थीलाई कम्तीमा दुई हप्ताको समय दिइनेछ, कोरोना भाइरसको जोखिम रहँदासम्म परीक्षा सञ्चालन गर्ने कुरा हुँदैन । त्यसैले त्यसको गति नियन्त्रणमा परीक्षा भर पर्नेछ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यार्थीको स्वास्थ्य महìवपूर्ण विषय भएकाले आफूहरू पर्ख र हेरको स्थितिमा रहेको बताए ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईईका परीक्षार्थीलाई घरपायक परीक्षामा सहभागी हुन पाउने सहज व्यवस्था गर्न उपकेन्द्रको सोच अगाडि ल्याइएको र त्यसका लागि के कति उपकेन्द्र कायम गर्न सकिन्छ भनेर देशभरिका शिक्षा विकास तथा समन्वय एकाइलाई यही महिनाभित्र प्रस्ताव पेस गर्न समय दिइएको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार