प्रधानमन्त्री ओली भन्छन् : भारतको नियत ठीक छैन

Law Hub Nepal वैशाख ३०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नियत ठीक नभएको बताएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले सो कुरा बताएका हुन् ।

सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भएपनि भारतको नियत ठीक नभएको ओलीले धारणा राखे । ‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । उहाँले नमिल्ने कुराकानी गर्नु भएछ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रष्ट अडान रहेको र त्यसअनुसार भारतसँग वार्ता गर्ने प्रधानमन्त्री ओलीले बताएको एक मन्त्रीले जानकारी दिए । उनले सीमा समस्याको कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्व सूचना आफूसँग नभएको बताएका छन् । ‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ उनले भने ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार