वकिलले किन लगाउँछन् कालो कोट र सेतो सर्ट ? यस्तो छ रोचक इतिहास !

Law Hub Nepal जेठ १, २०७७

वकिलको पहिरन भनेकै कालो कोट हो । त्यसैले त वकिललाई कालोकोटेको उपनामले पनि चिनिन्छ । अर्थात् प्रायः वकिलहरू कालो कोट र सेतो सर्ट लगाउँछन् ।

आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो सर्ट भयो त ?

स्मरण रहोस्, बेलायती शासक एडबर्ड तृत्तीयले सन् १३२७ मा वकालतको सुरुवात गरेका थिए । त्यस समय पहिरन संहिताका आधारमा न्यायाधीशहरूको भेषभुषाको मापदण्ड बनाइयो । त्यस समय न्यायाधीशहरूले शीरमा एक भुत्लायुक्त मुकुट लगाउँथे ।

वकालतको सुरुवातको समयमा वकिलहरूलाई चार भागमा विभाजन गरिएको थियो । जसमा स्टुडेण्ड अर्थात् प्रशिक्षार्थी, प्लिडर, बेन्चर र व्यारिस्टर थिए । ती सबैले न्यायाधीशलाई स्वागत गर्दथे ।

त्यस समय अदालतमा सुनौलो रातो रङको कपडा तथा खैरो रङको गाउन लगाउने चलन थियो । त्यसपछि सन् १६०० मा वकिलको पहिरनमा परिवर्तन भयो । वकिलले पनि लामो खाले गाउन लगाउन सुरु गरे । त्यो पहिरनले वकिल र न्यायाधीशलाई आम सर्वसाधारण भन्दा फरक देखाउँदथ्यो ।

सन् १६९४ मा बेलायती महारानीको बिफरका कारण मृत्यु भयो । रानीको मृत्युमा शोक मनाउनका लागि कालो गाउन लगाएर एकै ठाउँमा जम्मा हुनका लागि तत्कालीन राजा विलियम्सले सबै न्यायाधीश तथा वकिलहरूलाई आदेश दिए ।

रानीको मृत्युमा लगाइएको त्यो कालो पहिरन त्यसपछि वकिलहरूको आम पहिरन बन्न पुग्यो । सुरुमा गाउनको चलन थियो । तर विस्तारै कालो कोटको चलन आयो । समय क्रमसँगै कालो कोट वकिलको पर्यावाची बन्न पुग्यो ।

कालो कोट तथा सेतो कमिजले वकिलमा अनुशासन कायम गर्ने तथा न्यायप्रति विश्वास जागृत गर्ने आम विश्वास रहेको छ ।

वकिलले लगाउने कालो कोटले मुद्दाको दुई पक्षलाई झल्काउँछ । कालो रङलाई प्रतिरक्षाको रङ मानिन्छ । कानुन अन्धो हुन्छ । यसले मानिसको रङ हेर्दैन, साक्षी र प्रमाण हेर्छ ।

कालो र सेतो रङ अन्तरविरोधी रङ हुन् । न्यायसँग संलग्न दुई पक्षबीच न्यायपूर्ण निर्णय निकाल्नु हो – कालो र सेतो रङ । सेतो र कालो रङ दुई विपरीत धारणाको प्रतीक हो । भनिन्छ, कालो रङ सुरक्षाको प्रतीक पनि हो ।

एजेन्सी तथा विभिन्न स्रोतहरू ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार