‘न्यायकी देवी’को आँखामा किन पट्टी बाँधिएको हुन्छ ? यस्तो छ रहस्य !

Law Hub Nepal जेठ ४, २०७७

ल हब नेपाल । आँखामा पट्टी बाँधिएको एक देवीको मूर्ति अदालतहरूमा, लिगल अफिसहरूमा, कानूनका शैक्षिक संस्थाहरूमा अथवा न्याय क्षेत्रसँग सम्बन्धित क्षेत्रहरूमा हामीले देख्दै आएका छौं ।

ती देवीको आँखामा किन पट्टी बाँधिएको होला ? उनलेे हातमा बोकेका तराजु र तरवारको अर्थ के होला ? यस्तो जिज्ञासा हामी धेरैमा हुन सक्छ ।

ती देवीलाई न्यायकी देवीको रूपमा लिइन्छ । यस आलेखमा तिनै देवीको प्रचलित स्वरुपको रहस्यका बारेमा जानकारी समेट्ने प्रयास गरिएको छ ।

‘न्यायकी देवी’को मूर्तिको प्रचलन प्राचीन ग्रीक र इजिप्सियन काल देखि नै भएको पाइन्छ । न्यायकी देवीलाई अंग्रेजीमा ‘लेडी जस्टिस’ भनिन्छ, जुन ल्याटिन शब्द ‘Iustitia’ को अंग्रेजी रूपान्तरण हो । प्राचीन ग्रीकमा ‘lustitia’ लाई ग्रीक देवीदेवता ‘Themis’ र ‘Dike’ बराबरको हैसियत दिइएको पाइन्छ ।

लेडी जस्टिसलाई न्यायको मूर्ति बनाउने श्रेय रोमन सभ्यतालाई जान्छ, जहाँ लेडी जस्टिसलाई justitia शव्दले पुकारियो । न्यायिक प्रणालीमा नैतिक शक्तिलाई लाक्षणिक रूपमा मूर्त बनाउन वा वैयक्तिकरण गर्न न्यायकी देवीको परिकल्पना गरिएको मानिन्छ ।

न्यायकी देवीको मूर्ति केही गुण वा विशेषतायुक्त हुन्छ ।
आँखामा पट्टी बाँधिएको, एक हातमा तराजु समातेको र अर्को हातमा तरवार समातेको देख्न सकिन्छ ।

आँखाले हेर्दा कसैप्रति आग्रह – पूर्वाग्रह साँध्न सकिने डर हुन्छ । न्याय प्रभावित हुन सक्ने सम्भावना हुन्छ । यसर्थ न्याय निरूपण गर्दा आँखा होइन विवेक खोलेर गर्न सक्नुपर्छ भन्ने बोध गराउन न्यायकी देवीको आँखामा पट्टी बाँधिएको हो ।

१६ औं शताब्दीदेखि न्यायकी देवीलाई प्रायः आँखामा पट्टी लगाएर चित्रण गर्न थालिएको हो । आँखामा पट्टी बाँध्नु भनेको निष्पक्षता प्रदर्शन गर्नु हो । यसले एउटा यस्तो आदर्शको वकालत गर्दछ कि न्याय निरूपण कार्य धन, शक्ति, वा अन्य कुनै स्थितिले प्रभावित नहोस् ।

उनले बोकेको सन्तुलित तराजुले अदालतमा प्रस्तुत गरिएका प्रमाणहरूलाई अदालतका प्रतिनिधिले निष्पक्षताका साथ तौलिनुपर्ने कुरा इंगित गर्दछ । मुद्दाका प्रत्येक पक्षलाई हेरेर न्याय गर्नु पर्ने भएकोले तुलना गर्नु आवश्यक छ।

तरवार प्रवर्तन र सम्मानको प्रतीक हो, जसले न्याय आफ्ना निर्णयहरू लागू गराउन र कार्य गर्न सक्षम छ भन्ने बुझाउँछ । टल्किएको तरवारले न्याय पारदर्शी छ भन्ने संकेत गर्छ । साथै, यसले कार्यान्वयन न्यायको हुनुपर्छ, डर वा त्रासको हुनुहुँदैन भन्ने कुरा पनि दर्शाउँछ ।

१६ औं शताब्दीको मध्यदेखि नै न्यायकी देवीको आँखामा पट्टी बाँधिएको मूर्ति प्रचलनमा आएदेखी नै कानून अन्धो हुन्छ भन्ने कहावत चलेको पाइन्छ ।

आँखाले हेर्दा कसैप्रति आग्रह – पूर्वाग्रह साँध्न सकिने डर हुन्छ । न्याय प्रभावित हुन सक्ने सम्भावना हुन्छ । यसर्थ न्याय निरूपण गर्दा आँखा होइन विवेक खोलेर गर्न सक्नुपर्छ भन्ने बोध गराउन न्यायकी देवीको आँखामा पट्टी बाँधिएको हो ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार