सर्वोच्चमा आज १९ न्यायाधीशको बृहत् पूर्ण इजलास बस्दै

Law Hub Nepal जेठ ५, २०७७

काठमाडौं । आज सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास बस्दै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा कोरोना भाइरसको कारण मुद्दामा देखिएका बाधा अड्चन फुकाउन इजलास बस्‍न लागेको हो ।

जानकारहरूका अनुसार तुंगशमशेर राणाको मुद्दापछि सर्वोच्चका १९ न्यायाधीशसहितको बृहत् पूर्ण इजलास बसेर निर्णय गर्न लागिएको यो पहिलोपटक हो ।

लकडाउनका कारण प्रभावित हुने मुद्दाको सम्बन्धमा राय लिन सर्वोच्च अदालतले तोकेको एमिकस क्युरीहरूले इजलासबाट तत्काललाई उपयुक्त व्याख्खा गरी पछि संसदबाट छुट्टै कानुन जारी हुनुपर्ने सुझाव दिएपछि आज बृहत् पूर्ण इजलास बस्‍न लागेको हो ।

किन आवश्यक पर्‍यो ?

सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको छ । चैत १५ गते सर्वोच्च अदालतको पूर्ण बैठकले चैत ९ देखि अदालतका नियमित प्रकृतिका सबै मुद्दाको सुनुवाइ स्थगन गर्ने र महत्त्वपूर्ण र जरुरी प्रकृतिका केही निवेदनको मात्रै सुनुवाइ गर्ने निर्णय गर्‍यो ।

चैत २३ गते खुल्ने निर्णय भए पनि लकडाउन लम्बिँदा नियमित काम-कारबाही पनि अवरुद्ध छ ।

केही गम्भीर प्रकृतिका मुद्दामा बाहेक अन्यमा हदम्यादको व्यवस्था हुन्छ । घटना भएको वा थाहा पाएको निश्चित अवधिभित्र मुद्दा दर्ता नभए त्यसको औचित्य रहँदैन ।

मुद्दा दर्ता गरिसक्नुपर्ने अवधिलाई कानुनमा हदम्याद भनिन्छ । तर, लकडाउनका कारण हदम्याद भित्र मुद्दा दर्ता हुन नसक्ने अवस्था छ ।

पूर्ण बैठकले लकडाउनका कारण रोकिएका त्यस्ता प्रकृतिका काम नियमित रूपमा अदालतको काम-कारबाही सुरु भएको १० दिनभित्र गर्ने भन्ने निर्णय गरेको थियो ।

पूर्ण बैठकको निर्णयका आधारमा मात्र निर्णय गर्दा कानुनी जटिलता आउन सक्ने प्रश्न उठेपछि सर्वोच्च अदालतले बृहत् इजलासबाटै त्यसको निकास खोज्‍न लागिएको हो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार