कालोबजारी आरोपित अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

Law Hub Nepal वैशाख १८, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमण परिक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ।

काठमाडौँ जिल्ला अदालतले अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागेको हो। न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको आदेश सुनाएको हो। बुधबारदेखि बहस सुरु भएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। प्रहरीले स्टिङ अप्रेसनमार्फत अग्रवाललाई नियन्त्रणमा लिएको थियो।

४/५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप थियो। चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मुल्य लिएर बेचेको आरोप थियो।

व्यवशायी अग्रवाल जगदम्बा समूहका सदस्य हुन्। उनीविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्धा लिएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो।

कालोबजारी सम्बन्धी मुद्धाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भएपनि एक वर्षभन्दा बढी कैद मागदावी भएपछि अदालतको क्षेत्राधिकारमा पुगेको थियो।

एक वर्षसम्म कैद सजाय भएका कसुरको सुनुवाई जिल्ला प्रशासन प्रमुखले गर्दछन्। अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत पनि थिए। त्यसैले सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि उनीविरुद्ध लागु गरिएको थियो।

प्रहरीले पक्राउ गरेलगत्तै परराष्ट्र मन्त्रालयले उनका सम्पुर्ण सेवा सुविधा फिर्ता गरेको थियो। उनले सरकारी सेवासुविधाबापत प्राप्त गर्ने निलो नम्बर प्लेटको गाडीमा थर्मल गन राखेर कालोबजारी गरेको प्रहरीको दावी थियो।

अग्रवालबिरुद्ध १५ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार