वैशाख २५ पछि लकडाउन खुकुलो बनाउने सरकारको तयारी

Law Hub Nepal वैशाख १९, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् ।

शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।

कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।

कोरोनाका कारण दिर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।

मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्‍यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताए ।

सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्‍याउन आदेश जारी गरेपछि सरकारले घर पुर्‍याउने नीति अवलम्बन गरेको उनले बताए ।

बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पुर्‍याइएको र आरडिटी परीक्षण जारी रहेको उनले बताए ।

मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको स्पष्ट पारे ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार