अन्ततः महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध दर्ता भयो अपहरणको उजुरी

Law Hub Nepal वैशाख २२, २०७७

काठमाडौं । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए ।

उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।

अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।

तर वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । सा‌ंसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार