तत्कालीन माओवादीले बन्द गराएको संस्कृत भाषा २० वर्षपछि विद्यालयमा फर्काइँदै

Law Hub Nepal वैशाख २४, २०७७

काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीको निशानामा परी बन्द भएको संस्कृत पठनपाठन विद्यालयहरूमा फेरि सुरू गर्न लागिएको छ।

मातृभाषा नपढाउने स्थानीय तहले त्यहाँका विद्यालयहरूमा कक्षा आठसम्मको पाठ्यक्रममा अब संस्कृत भाषा अध्ययन समावेश गर्नुपर्नेछ। कक्षा आठसम्मका लागि पुस्तक तयार पारिँदैछ भने कक्षा एकमा यसै शैक्षिक सत्रदेखि संस्कृत अध्ययन गराइँदेछ।

भाषा आयोगले संस्कृत नागरिकको जीवनपद्धतीसँग जोडिएको विषय भएकाले पाठ्यपुस्तक र पाठ्यक्रम तयार पार्न सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा यसै शैक्षिक सत्रदेखि अध्यापन गराउन सकिने गरी संस्कृत भाषाको पाठ्यक्रम तयार पारेको छ। कक्षा एकका विद्यार्थीलाई पठाउन पुस्तकसमेत तयार भइसकेको केन्द्रले जानकारी दिएको छ।

केन्द्रले तयार गरेको संस्कृत पाठ्यक्रमलाई शिक्षामन्त्री गिरिराजमणी पोख्रेल अध्यक्षताको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्‌ले गत माघ २ गते नै स्वीकृत गरिसकेको छ।

भाषा आयोगले सरकारलाई गरेको सिफारिसमा संस्कृतसँगै अन्य मातृभाषाका पाठ्यक्रम पनि तयार गर्न सुझाएको थियो। सोही सिफारिसअनुसार पाठ्यक्रम विकास केन्द्रले अवधि, मैथिली, भोजपुरी, गुरुङ, थकाली, थारू, माझी, पाली र भोटलगायत मातृभाषाका पाठ्यक्रम पनि तयार पारिसकेको छ।

पूर्णाङ्क पनि थपियो

वि.सं. २०५८ अघि विद्यालयहरूमा कक्षा आठसम्म ५० पूर्णाङ्क राखी सरल संस्कृत भाषा पठनपाठन हुने गरेकोमा सरकारले यसपटक १०० पूर्णाङ्ककै पाठ्यक्रम तयार पारेको छ।

द्वन्द्वका कारण पठनपाठन बन्द हुनुअघि कक्षा चारदेखि मात्रै सरल संस्कृत भाषाको पाठ्यक्रम समावेश गरिएको थियो। तर अब मातृभाषा नपढाउने स्थानीय तहले कक्षा एकदेखि नै संस्कृत पढाउनुपर्नेछ। संस्कृत अध्ययन सजिलो बनाउनका लागि सरकारले नेपाली र अंग्रेजीमा पनि पुस्तक तयार पारेको छ।

सामुदायिक विद्यालयहरुमा पढाई नभएपनि यतिखेर देशका ५० वटा निजी विद्यालयहरूले संस्कृत भाषा पढाइरहेका छन्‌।

जियर फाउन्डेशनको सक्रियतामा निजी विद्यालयका लागि पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरिसकिएको छ भने देशभरका ५० विद्यालयमा पठनपाठन नै सुरू भइसकेको छ।

फाउन्डेशनले सभ्य र सुसंस्कृत एवं नैतिकवान नागरिक तयार पार्न संस्कृत भाषा सहयोगी हुने भन्दै अभियान चलाइरहेको छ।

आकर्षण विश्वभर

संस्कृत भाषाप्रति अहिले विश्वभरका भाषाप्रेमी र शिक्षालयहरू आकर्षित भइरहेका छन्। अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०३४ भित्र संस्कृत भाषा प्रयोग गरिने कम्प्युटर बजारमा ल्याउने घोषणा गरिसकेको छ।

संस्कृत भाषामा उच्चारण गरिएको ध्वनी अन्तरिक्षमा पनि परिवर्तन नहुने प्रमाणित गर्दै नासाले थप खोज र अनुसन्धानका लागि संस्कृत भाषा उपयोगमा ल्याउन लागेको हो। नासाले अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको जनाएको छ।

पछिल्लो शताब्दीमा जर्मनी, बेलायत र अमेरिकाले प्राथमिकतामा राखी संस्कृत भाषा अध्ययन/अध्यापन अघि बढाइरहेका छन्‌। अन्य भाषा राम्रो बनाउन चाहने भाषाअध्येताहरू पनि संस्कृत भाषा अध्ययनमा आकर्षित हुँदै आएका छन्‌। नेपालकै वाल्मिकी विद्यापीठमा अन्य विषय पढेका सैयौं विद्यार्थी संस्कृत भाषा अध्ययनका लागि भर्ना हुने गरेका छन्‌।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार