बाबुरामले मागे प्रधानमन्त्रीको राजीनामा, महतोले भने: ‘दुई तिहाइको सरकारले दुई कौंडीको काम गरेन’

Law Hub Nepal वैशाख २६, २०७७

काठमाडौं । संघीय संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र सांसद अपहरणको मुद्दाले प्रवेश पाएको छ ।

शुक्रबारबाट सुरु बजेट अधिवेशनमा प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी जनता दलले प्रधानमन्त्रीको राजीनामा र सांसद अपहरणको मुद्दालाई प्राथमिकताका साथ उठाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताए ।

कोरोनाविरुद्धको लडाइँमा आफूहरूले सरकारलाई साथ दिए पनि दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत रहेको उनको आरोप थियो ।

त्यस्तै, समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा माग गरे । उनले प्रधानमन्त्रीले रोगले जीर्ण भएको शरीरलाई आराम दिनुपर्ने बताए । आफ्नै छविलाई पनि बचाएर अघि बढ्न प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त भएको उनले जिकिर गरे ।

यस्तो संकटका बेला सरकारको नेतृत्व अन्य पार्टी फुटाउने योजना बनाउने, संवैधानिक निकाय कब्जा गर्ने योजना बनाउँछ भने यो लोकतन्त्रका लागि सुखद खबर नभएको पनि भट्टराईले बताए ।

त्यस्तै, बैठकमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले सरकार कोरोनाको महामारीले विश्व नै आक्रान्त रहेका बेला सरकार भने अर्कै धन्दामा लागेको आरोप लगाए ।

उनले सरकार पार्टी फोर्ने, सांसद अपहरण गर्ने धन्दामा लागेको आक्षेप लगाए । उनले अहिले पार्टी फोर्ने सप्राइज जनतालाई नचाहिएको भन्दै आफूहरूले पनि पार्टी एकता गरेर सप्राइज देखाइदिएको बताए ।

महतोले सरकार दुई तिहाइको भएपनि काम भने दुई कौंडीको गर्न नसकेको धारणा राखेका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार