रूकुम पश्चिम घटनाका आरोपीहरूको बयान जारी, आज ९ जनाको सकियो 

Law Hub Nepal असार २, २०७७

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको अभियोग लागेका आरोपीहरु मध्ये ९ जनाको बयान सकिएको छ ।

सो घटनाका ३४ आपोपी मध्ये मंगलबार ९ जनाले रुकुम जिल्ल्ला अदालतमा बयान दिएको श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

कुल आरोपी ३४ जनामध्ये ३३ जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाईएको छ ।

बाँकी एक जनालाई मतियारको अभियोग सहित जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले गत आईतबार जिल्ला अदालतका अभियोग दर्ता गरेको थियो ।

आरोपी मध्ये दुई जना नाबालकको थुनछेक बहस पश्चात पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश सोमबार नै गरिसकिएको छ । ५ जना फरार रहेका छन् ।

फरार ५ जना र २ जना नाबालक तथा मंगलबार बहस सकिएका ९ जना बाहेक अब बाँकी १८ जनाको पनि बयान भोलि र पर्सिसम्ममा सक्ने तयारी भईरहेको श्रेष्तेदार बोहराको भनाई छ ।

फरार ५ जनाको पनि खोजी कार्य तीब्र रुपमा भैरहेको प्रहरीले बताएको छ । आरोपीहरुको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

सोतीकी १७ वर्षीया एक मल्ल थरकी एक किशोरीकी प्रेमी सहित जाजरकोट तर्फबाट आएका युवा गत जेठ १० गते स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको ज्यान गएको थियो ।

किशोरीका प्रेमी भनिएका नवराज विकसहित अरू ५ जनाको भेरी नदीमा शव भेटिएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार