त्रिविले भदौ पहिलो साताबाट परीक्षा लिन सक्ने, मोडालिटी तय गर्ने अधिकार डिन कार्यालयलाई

Law Hub Nepal श्रावण ५, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी निर्णय गर्ने अधिकार डिन कार्यालयहरूलाई दिएको छ ।

त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको आइतबार बसेको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको र लकडाउनको अवस्था हेरेर निर्णय गर्न सक्ने गरी निर्णय लिने अधिकार दिएको हो ।

त्रिविका रजिस्ट्रार प्रा.डा. पेसल दाहालका अनुसार ७ साउनसम्म लकडाउन रहेको र त्यसपछिको अवस्था हेरेर विद्यार्थीसँग सम्पर्क गरी डिन कार्यालयले परीक्षाको मोडालिटी तय गर्न सक्ने गरी बैठकले अधिकार दिएको बताए ।

सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय र वार्षिक परीक्षाको परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने व्यवस्था छ । वार्षिक प्रणालीका परीक्षा असोजमा लिन सक्ने दाहालले बताए । ‘परीक्षा फारम भरिसकेका विद्यार्थीको हकमा निर्णय भएको हो, फारम नभरेका विद्यार्थीको हकमा कुनै निर्णय भएको छैन,’ उनले भने ।

अहिले सार्वजनिक यातायातसमेत चल्न थालेकाले केही समय सामाजिक दूरी कायम गरेर परम्परागत रूपमै परीक्षा परीक्षा लिन सकिने त्रिविका पदाधिकारीको भनाइ छ । पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीक्षा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छन् ।

कोरोना भाइरसको जोखिम बढेसँगै चैत पहिलो सातादेखि नै शैक्षिक गतिविधि बन्द भएका कारण अधिकांश विद्यार्थी घर गएका छन् । उनीहरूको अवस्था के छ भन्ने विषयमा त्रिविले ट्रेसिङ गरेको छैन । स्नातकोत्तर तहका विद्यार्थीको परीक्षा दिइरहेको अवस्था र कोही परीक्षाको तयारी गरेको समयमा परीक्षा स्थगित भएको थियो ।

सञ्चालन हुँदाहुँदै रोकिएका थिए परीक्षा

गत ६ चैतबाट सबै शैक्षिक संस्था बन्द र सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । कतिपय संकायमा आधा विषयमा परीक्षा दिएर चार महिनासम्म त्रिविले अर्को विकल्प नदिँदा विद्यार्थी तनावमा छन् ।

कानुन संकायको बीएएलएलबी दोस्रो सेमेस्टरको परीक्षा बिचैमा स्थगित भएको थियोे । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए । एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एक÷दुई दिन मात्र बाँकी थियो । इन्जिनियरिङलगायतमा यस्तो समस्या छ ।

त्रिविले परीक्षासम्बन्धी सिफारिस गर्न गठन गरेको समितिले चार विकल्पमा काम गर्न सुझाब दिएको थियो । समितिले ओपन बुकदेखि परम्परागत रूपमा लिइने परीक्षाजस्तै गरी सामाजिक दूरी काम गरी परीक्षा लिन सकिने सुझाब दिएको हो ।

समितिले ओपन बुक परीक्षा, आन्तरिक मूल्यांकनलाई केही भार दिने र मौखिक, जुमलगायतका माध्यम, टेलिफोन आदिबाट मौखिक परीक्षा लिन सकिने विकल्प दिएको छ । त्यसैगरी, अनलाइन परीक्षा लिन सिफारिस गरेको छ । विद्यार्थी अनलाइनमै रहेर कम्प्युटरमा लेखेर तोकिएको समयभित्र उत्तर पठाउन सक्ने गरी विकल्प दिएको थियो । समाचार नयाँ पत्रिकामा छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार