‘काठमाण्डू प्रेस’ ह्याक गरेको सिरान टेक्नोलोजिजद्वारा स्वीकार, माग्यो माफी

Law Hub Nepal चैत्र २१, २०७६

काठमाडौं । ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एड्मिन सिर्जना गरेको आरोप लागेको थियो ।

सोही आइडीबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरूसँग सम्बन्धित समाचार डिलिट गरिएको काठमाडौं प्रेसले बताएको थियोे ।

समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई–सेवाका सिइओ अलीको नाम पनि जोडिएको थियो । तर, सार्वजनिक रूपमा चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजिजले गल्ती स्विकारेको छ ।

‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै एउटा जिम्मेवार कम्पनीका रूपमा त्रुटिलाई स्वीकार गर्दै  काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र  शुभचिन्तकसँग क्षमायाचना गरेको छ । यस्ता किसिमका त्रुटि दोहोरिन नदिन नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त विज्ञप्तिमा गरिएको छ ।

अनधिकृत रूपमा अर्काको सिस्टममा छिरेर डाटा म्यानुपुलेट गर्ने कामलाई ह्याकिङ भनिन्छ । यस्तो साइबर अपराधमा संलग्नलाई दण्डित गर्ने कानुनी प्रावधान रहेको छ ।

तर, प्रधानमन्त्रीले आफ्ना आइटी सल्लाहकारलाई संरक्षण गर्छन् कि कानुनी कारबाही गर्छन् ? समाजले अवलोकन गरिरहेको छ । जब कि यही देशमा फेसबुकमा कमेन्ट लेख्नेलाई जेल पठाउने गरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार