आजदेखि सडकमा हिँड्नेलाई पक्राउ गरेर मुद्दा चलाइने 

Law Hub Nepal वैशाख ४, २०७७

काठमाडौं । सहरमा गुजारा चलाउन समस्या परेपछि हिँडेरै गृहजिल्ला फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने भएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको हिजो बुधबारको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको हो ।

लकडाउन भनेको हिँडेर जान पाइने भन्ने नभएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए ।

अहिले ठूलो संख्यामा मान्छे हिँडेरै विभिन्न जिल्लामा गइरहेको पाइएको छ । यसबाट जोखिम बढेकाले पक्राउ गरेर संक्रामक रोग ऐनको दफा २२ अनुसार मुद्दा चलाउन नै निर्देशन भएको उनलेे जानकारी दिए ।

पछिल्ला केही दिन संक्रमणको दर फैलिएसँगै जोखिम बढेको भन्दै लकडाउनलाई थप कडाइ गर्न लागिएको हो ।

उपत्यकालगायत विभिन्न ठाउँबाट खासगरी मजदुरहरू कैयौँ दिन हिँडेर घर फर्किरहेका छन् । काम बन्द भएसँगै खानै समस्या भएकाले जोखिम र कष्ट व्यहोरेरै गाउँ जान बाध्य हुनुपरेको उनीहरूको गुनासो छ ।

हिँडेर घर फर्किन पूर्ण रूपमा रोकेसँगै गाँसको व्यवस्था नगर्ने हो भने सहरी क्षेत्रमा धेरै मजदुर भोकभोकै रहने अवस्था रहन्छ ।

समितिले खाद्यान्न पसलहरूमा हुने भीडबाट समेत जोखिम रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

लकडाउन पालना नगर्ने अन्यलाई पनि मुद्दा चलाउन भनेको छ । लकडाउन कडाइ गर्ने क्रममा प्रशासनले परिवारभित्रै भएको मृत्युमा मलामी जानबाहेक पास दिनसमेत बन्द गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार