ओली र नेपाल पक्षबीच आज अपरान्ह निर्णायक वार्ता हुँदै 

Law Hub Nepal वैशाख १५, २०७७

काठमाडौं । नेकपाभित्र अन्तरविरोध बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँट गरेर जोगिन अन्तिम प्रयत्न थालेका छन् ।

नेपालसँगै समझदारी गरेर अघि बढ्न दबावमा परेका ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरुलाई खटाएका छन् ।

बालुवाटार स्रोतका अनुसार आज (सोमबार) ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच समझदारीका लागि ‘निर्णायक छलफल’ हुँदैछ । त्यसका लागि दुबै पक्षबाट चार/चार जना नेता खटिएका छन् ।

अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा हुने दुई पक्षीय छलफलपछि प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच कुराकानी हुनेछ ।

ओली पक्षबाट वार्ताका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।

यता नेपाल पक्षबाट बरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई हटाउनेसम्मको तयारी भएपछि पूर्वएमालेबीच समझदारीका लागि प्रयत्न भइरहेको छ ।

प्रचण्डले यसअघि नै माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपति बनाउनेसम्मको प्रस्ताव राखिसकेको नेकपाभित्र चर्चा छ । तर, माधव नेपाल अझै पनि ओलीलाई अपमानजनक ढंगले हटाएर अस्थिरताको कारक बन्न चाहिरहेका छैनन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार