त्रिविको अनलाइन कक्षा : ११ हजार अध्यापक र साढे चार लाख विद्यार्थीलाई इ–आईडी दिँदै

Law Hub Nepal जेठ २६, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनका निम्ति ११ हजारभन्दा बढी अध्यापक, कर्मचारी र साढे चार लाख विद्यार्थीलाई अफिसियल इ–आईडी दिने भएको छ ।

त्यस निम्ति प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र प्राध्यापन सहायकको निम्ति इमेल आईडी निर्माण भइसकेको जनाएको छ । माइक्रोसफ्ट कम्पनीले पाँच लाखवटा लाइसेन्स नि:शुल्क सेवा दिने भएपछि त्रिविले कदम अघि बढाएको हो ।

त्रिविका ६२ आंगिक र १ हजार ६१ सम्बन्धनका क्याम्पस छन् । त्यहाँ कार्यरत प्रत्येक प्राध्यापनरत शिक्षक र विद्यार्थीले अनिवार्य रूपमा इमेल आईडी पाउने छन् । प्रत्येकले ५० जीबी स्पेस र त्रिविका इ–पुस्तकालय सेवासमेत उपभोग गर्न पाउने व्यवस्था हुनेछ ।

त्रिविमा ७ हजार ८ सय स्थायी र चार हजारभन्दा बढी आंशिक प्राध्यापक जनशक्ति छन् । त्यसैगरी आठ हजार कर्मचारी छन् । त्रिविमा प्रमाणपत्र तह नर्सिङ, स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिका गरी ४ लाख ३४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सबै शिक्षक र आवश्यकता अनुसार प्रशासन तथा लेखाका कर्मचारी र विद्यार्थीलाई इमेल आईडी उपलब्ध गराइने छ । माइक्रोसफ्ट एमएस टिम्सअन्तर्गत १६ वटा विभिन्न टुल्ससमेत प्रयोग गर्न सक्ने छन् ।

‘कोभिड–१९ ले भएको लकडाउनपछि त्रिविले सबै संकायअन्तर्गतका विभाग, क्याम्पसहरूमा अध्यापन कार्य अनलाइनबाट गर्ने विकल्पको खोजी गरेको छ,’ शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसालले भने, ‘विकल्प खोज्दै रोज्दै जाँदा माइक्रोसफ्ट टिमको मुडल बलियो रहेको पायौं । माइक्रोसफ्टले विश्वविद्यालयलाई नि:शुल्क उपलब्ध गराउने भएको छ । त्यसका निम्ति प्रयोगकर्ताको इमेल आईडी टियुइडियुएनपी हुनुपर्ने रहेछ ।’

त्रिविले लकडाउनपछि जुम एप्लिकेसनबाट अनलाइन शिक्षण सुचारु राखेको छ । तर यो ठूलो समूहलाई पर्याप्त नहुने र जुम एप्लिकेसनमा गोप्यता सुरक्षित नहुने भन्ने भएपछि विकल्प रोजेको हो । त्रिविले यसअघि जुम एल्पिकेसन्सको १ सय ७५ वटा लाइसेन्स लिएको थियो । यसबाटै प्राध्यापन जनशक्तिलाई कक्षा संचालन गर्दै आएको छ ।

‘तर यो सुरक्षित नहुने ठहर भयो,’ संकट व्यवस्थापनका निम्ति गठित कार्यदलका सदस्य तथा भौतिकशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा. बिनिल अर्यालले भने, ‘माइक्रोसफ्टले पाँच लाखवटा लाइसेन्स नि:शुल्क उपलब्ध गराउने भएपछि जुममा पैसा खर्च नगर्ने भन्ने भएको छ । माइक्रोसफ्ट दिएको सुविधालाई त्रिविको अफिसियल आईडीबाहक बाहेक अरुले प्रयोग गर्न सक्ने छैन । एमएस टिमको महत्वपूर्ण पक्ष भनेको सुरक्षा विश्वसनीय हुनु हो ।’

त्रिविलाई आवश्यक परेपछि माइक्रोसफ्ट कम्पनीसँग सम्पर्क विस्तार गरेको हो । दुई वर्षअघि उक्त कम्पनीका प्रतिनिधि त्रिविको सम्पर्कमा आउँदा पदाधिकारीले बेवास्ता गरेका थिए ।

‘दुई वर्षअघि माइक्रोसफ्ट कम्पनीका दुईजना प्रतिनिधिले त्रिविमा सम्पर्क गर्दा पदाधिकारीले समय दिएनछन्,’ प्राध्यापक अर्यालले भने, ‘अहिले हामी आफैंलाई आवश्यकता परेपछि सम्पर्क गर्दा त्यो रहस्य खुल्यो । यद्यपि सकारात्मक पहल हुन सकेको छ ।’

माइक्रोसफ्टको प्रयोग गर्दा पहिलो रेकर्ड उसैसित रहने छ भने दोस्रो रेकर्ड सरकारको आधिकारिक सर्भरमा ब्याकअप रेकर्ड रहनेछ । त्यसैगरी तेस्रो रेकर्ड राख्नका त्रिविले सर्वरको व्यवस्था गर्ने तयारी गरेको जनाइएको छ । त्यसनिम्ति कम्तिमा ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । त्रिविले सफ्टवेयर खरिद गर्ने र त्यसको आवश्यक व्यवस्थापन गर्नका निम्ति विज्ञसहितको प्राविधिक टोली गठन गरेको छ ।

‘अब त्रिविले दीर्घकालीन योजनासहित अघि बढ्नेछ,’ शिक्षाध्यक्ष भुसालले भने, ‘सिंगै विश्वविद्यालय माइक्रोसफ्ट क्लाउडमा लगेका छौं । क्लाउन खरिद गर्न ८ हजार डलर खर्च भएको छ । अब अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यार्थी भर्नादेखि कक्षा सञ्चालन, आन्तरिक र बाह्य परीक्षण, सिर्जनात्मक ढंगले परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मको व्यवस्था गर्नेछ ।’

विद्यार्थी भर्नादेखि परीक्षा सञ्चालनसम्म व्यवस्थापन गर्नेबारे प्राध्यापक सुवर्ण शाक्यको संयोजकत्वमा विकल्प मोडालिटी अध्ययन समिति गठन भएको छ ।

त्रिविले तत्काल १ सय ३७ विभाग र क्याम्पसमा छुट्टै प्राविधिक कक्ष विस्तार गर्दैछ । हरेक कक्षका निम्ति दुई जना कर्मचारी व्यवस्थापन गरिनेछ । प्रत्येक प्राध्यापकलाई सशक्तिकरण तालिम प्रदान गरिदै आएको डिन भुसालले जनाए ।

‘आईटी विज्ञबाट आठ हजार शिक्षकलाई प्रविधिमैत्री तुल्याउन चरणबद्ध तालिम दिइएको छ,’ हरेक विद्यार्थी र शिक्षक प्रविधिमैत्री हुनैपर्ने उल्लेख गर्दै उनले भने, ‘तालिमप्राप्त प्राध्यापकले विद्यार्थीलाई सानो समूहमा तालिम दिने छन् ।’

त्रिविले लकडाउनले गर्दा रोकिएका परीक्षा भने यथावत सञ्चालन गर्नेछ । अब हुने व्यवस्थापनले अध्ययनरत विद्यार्थीको परीक्षा भने विकल्प हुनसक्ने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार