कोरोना संक्रमण रोक्न तुरुन्त चाल्नुपर्ने कदमहरु

Law Hub Nepal चैत्र २२, २०७६

         डा. रवीन्द्र पाण्डे

  • यदि कसैलाई उच्च ज्वरो आएको छ, सुख्खा र लहरे खोकी लागेको छ, सास फेर्न गाह्रो भएको छ, अनि ऊ विदेशबाट आएको वा उनीहरुको संसर्गमा रहेको छ भने उसलाई अस्पताल भर्ना गरेर जाँच तथा उपचार गरौँ । उसका परिवारलाई होम क्वारेन्टाइनमा राखौं ।
  • कोरोना संक्रमण परिक्षण गर्दा पोजिटिभ देखिएन भनेर ढुक्क नबनौं । नमूना संकलन गर्ने तरिका, त्यसको सुरक्षण विधि, जाँच गर्ने उपकरण, जाँच गर्ने प्राविधिकको क्षमता आदि धेरै कुराले फल्स पोजिटिभ वा फल्स नेगेटिभ रिपोर्ट आउन सक्छ ।
  • एकपटक जाँच गर्दा रिपोर्ट पोजेटिभ आयो तर फेरि गर्दा नेगेटिभ आयो भने त्यस्तो बिरामीलाई पनि आइसोलेसनमा राखौं । उसको परिवारलाई होम क्वारेन्टाइनमा राखौं ।
  • कोरोना परीक्षण गर्ने सुबिधा नभएको ठाउँमा यदि कुनै व्यक्ति संक्रमित मुलुकबाट आएको छ वा त्यस व्यक्तिको सम्पर्कमा आएका उसका परिवार तथा आफन्तलाई माथिका लक्षण देखिए भने आइसोलेसनमा राखौं । लक्षण गम्भीर देखिए अस्पताल भर्ना गरौँ ।
  • ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी (नमूना लिने व्यक्ति)लाई नमूना संकलन गर्ने तालिम प्रदान गरौं । उनीहरुलाई पीपीईको व्यवस्था गरौँ । धेरैजसो नमूना संकलन गर्ने व्यक्ति आफूलाई सर्छ कि भन्ने डरले घाँटी तथा नाकको स्वाब लिँदा भित्रसम्म पुर्‍याएर पर्याप्त नमूना संकलन नगरेका हुन सक्छन् । उनीहरुलाई मेहेनत गरेर नमूना संकलन गर्न प्रोत्साहित गरौँ । मेहेनत गर्नेलाई थप इन्सेन्टिभको व्यवस्था गरौँ ।
  • यदि कुनै व्यक्तिलाई कोरोनाको लक्षण देखिएर मृत्यु भएको छ भने उसको रिपोर्ट पोजिटिभ वा नेगेटिभ जे आए पनि उसलाई सुरक्षित तरिकाले दाहसंस्कार गरौँ । उसको परिवार, आफन्त, भेट भएका व्यक्ति २ हप्ता होम क्वारेन्टाइनमा बसौं ।
  • कोरोना संक्रमणको डरले भारतबाट दशौँ हजार नेपाली आफ्नो घरमा आउनुभएको छ । उहाँहरुमध्ये अधिकांशलाई कोरोना संक्रमण भएको छैन । तर उहाँहरु २ हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ, बसाल्नुपर्छ । उहाँमध्ये कुनै व्यक्तिलाई माथिका लक्षण देखिएका छन् भने सीधै नजिकको अस्पताल वा आइसोलेसन केन्द्रमा राखौं । परिवार तथा नजिकका व्यक्ति होम क्वारेन्टाइनमा बसौं ।
  • मेडिकल कलेजलाई खाली गरेर कोरोना अस्पतालको रुपमा विकास गरौँ । अहिले जीवन संरक्षण गरौँ । विकास पछि गरौंला
    सिमानाका बासिन्दा ठूलो जोखिममा बस्नुभएको छ । नाका, खेत, जंगल तथा नदीबाट कोही व्यक्ति नेपाल पसेको छ कि छैन ? उच्च निगरानी गरौँ । यसको लागि सिमानाका बासिन्दालाई प्रशिक्षण दिन सुरु गरौँ । सिमानामा सुरक्षाकर्मीको बाक्लो गस्ती बढाउने व्यवस्था गरौँ । सिमानाबाट कोरोना संक्रमित व्यक्ति नेपालभित्र पसेमा अकल्पनीय क्षति हुनसक्छ ।
  • सरकारले यस्तो महाविपदको बेला खानपिनमा लाग्ने देशद्रोहीलाई ठाउँको ठाउँ कारबाही गरोस् । जाँच गर्ने उपकरण, पीपीई लगायत अत्यावश्यक औषधि उपकरण जिटुजी वा सेनामार्फत फास्ट ट्रयाक अपनाएर खरिद गरोस् । अघिल्लो सम्झौतामा हस्ताक्षर गर्ने, च्यानल मिलाउने लगायत व्यक्तिलाई पदमुक्त गरेर भ्रष्टाचारलाई निरुत्साहित गरोस् ।
  • यो अप्रिल महिना अर्थात वैशाखको मध्यसम्म कडा लकडाउन कायम गरौँ । यसपछि भारतको लक डाउनको समानान्तर लक डाउन गरौं । सीमा नियमन गर्न लामो समय लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसको लागि १ वर्षको खाद्यान्न तथा औषधिको जोहो सरकारले गरोस् ।
  • सातै प्रदेशमा न्युनतम ५०० वेडको अस्पताल वा मेडिकल कलेजलाई खाली गरेर कोरोना अस्पतालको रुपमा विकास गरौँ ।
  • विपन्न वर्गलाई महिनाको १५ हजार तथा ५० किलो चामलको व्यवस्था गरौं । भोकले कोही मर्नु वा अन्य बाटो हिँड्नु नपरोस् भन्ने कुरामा सरकार सतर्क हुन जरुरी छ । अहिले जीवन संरक्षण गरौँ । विकास पछि गरौंला ।
  • सहरबाट गाउँ जाने नागरिकलाई निश्चित समय दिएर गाउँ जाने व्यवस्था सरकारले गरोस् । उहाँहरु आफ्नो खेतीपाती गरेर दुई छाकको जोहो गर्न सक्नुहुन्छ ।
  • बिरामी उपचार नगर्ने प्राइभेट अस्पतालको इजाजत रद्द गर्ने वा राष्ट्रियकरण गार्मे काम सरकाले शीघ्र गरोस् । विपदमा काम नलाग्ने अस्पताल अस्पताल हैनन्, पैसा छाप्ने मेसिन हुन् ।
  • भष्टाचारी तथा कालोबजारीको लिस्ट बनाउँदै सार्वजनिक गरौँ । उनीहरुलाई सामाजिक बहिस्कार गरौँ । अख्तियार तथा न्यायालयमा उजुरी दिने गरौँ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार