सवारी ज्यानमुद्दाका आरोपीलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

Law Hub Nepal श्रावण ३, २०७७

काठमाडौं । सवारी ज्यान मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई सर्वोच्च अदालतले ‘आश्चर्यजनक रुपमा’ ५ लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

बिनालाइसेन्स, अत्यधिक मदिरा सेवन गरेका चालकले चलाएको गाडीको ठक्करबाट बुढानिलकण्ठमा लीला देवकोटाको मृत्यु भएको थियो ।

त्यही घटनासँग जोडिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.मनोजकुमार शर्माको इजलासले आरोपित पृथ्वी मल्ललाई धरौटीमा छाड्ने आदेश गरेको हो । गत बुधबारको आदेश शुक्रबारमात्रै सार्वजनिक भएको हो ।

विवादास्पद आरोपितलाई छाड्ने क्रममा सर्वोच्च अदालतले उनको मानसिक समस्या र दमको बिरामी भएको दाबीलाई आधार लिएको छ । ती दुवै दाबी घटनापछिका हुन् । अस्पतालबाट पेस भएका कागजातको सत्यता समेत परीक्षण नगरी सर्वोच्च अदालतले मल्ललाई धरौटीमा छाडेको हो ।

‘कोरोना भाइरस महामारीको अवस्थामा दमका बिरामी उच्च जोखिममा रहेको’ आदेशमा भनिएको छ, ‘हाल उनी भागी जाने वा प्रमाण लोप गर्ने अवस्थामा समेत नदेखिँदा ५ लाख रुपैयाँ धरौटीमा छाड्नु ।’

आरोपित पृथ्वी मल्ल घटनाको एक साताअघि मात्रै अध्ययन बिदाका क्रममा अमेरिकाबाट नेपाल आएका हुन् । सर्वोच्च अदालतले उनी फेरि अमेरिका फर्केर जाने सम्भावनालाई ‘अनदेखा’ गर्दै उनी भागी जाने सम्भावना नहरेको भनी आदेशका क्रममा व्याख्या गरेको हो ।

आरोपित मल्ल विमानस्थलबाट वा सडकबाट भागेर जाने सम्भावना भएको अवस्थामा समेत विदेश जान रोक लगाउने वा पासपोर्ट रोक्का राख्नुपर्ने भए पनि त्यस्ता कुनै आदेश पनि गरेको छैन ।

सर्बोच्च अदालतले मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ६७ को उपदफा ३ मा भएको व्यवस्थालाई आधार देखाई आरोपित मल्ललाई छाडेको हो । उक्त कानुनी व्यवस्थामा ‘दस वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरमा बाहेक अभियुक्त बालबालिका वा शारीरिक वा मानसिक रोग लागी अशक्त भएको वा सात महिनाभन्दा बढीकी गर्भवती महिला वा पचहत्तर वर्ष माथिको वृद्ध भएमा त्यस्तो अभियुक्तलाई अदालतले धरौटी वा जमानतमा छोड्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

तर, रोचक के छ भने आरोपितले पेस गरेको मेडिकल कागजात घटनापछिको हो । घटना हुनुअघि उनी रोगी थिए भन्ने पुष्टि हुने कुनै कागजात पेस नभएको सर्वोच्च अदालत स्रोतले बतायो ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपितहरु कुनै न कुनै रुपमा संलग्न छन् भन्ने लागेमा अदालतले पुर्पक्ष थुनामा पठाउन आदेश गर्नुपर्ने कानुनी व्यवस्था छ । ३ देखि १० वर्ष कैद हुने मुद्दामा सर्वोच्चले २१ वर्षीय युवक मानसिक रोगी भएको भन्ने आधार देखाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

‘यसरी हेर्ने हो भने पुर्पक्ष थुनामा रहेका सबैले अस्पतालबाट मानसिक समस्या भएको कागजात ल्याउँछन्’, एक सरकारी वकिलले भने, ‘धरौटीमा छाड्ने व्यवस्थै नभएको अवस्थामा यसरी छाड्नु न्यायालयको मर्यादाको दृष्टिकोणले पनि शोभनीय भएन ।’

सर्वोच्च अदालतको आदेशअनुसार, ‘हाल सिभियर डिप्रेसनमा रहेका’ मल्ल दमका समेत बिरामी हुन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको लगनखेल मानसिक अस्पतालले २०७६ साल फागुन ३० गतेको ओपीडी बुक र सोही अस्पतालको डिस्चार्ज समरीबाट उनी मानसिक समस्यामा देखिएको भन्दै सर्वोच्च अदालतले दमको समेत बिरामी रहेको भन्दै चिरायु अस्पतालको मेडिकल रिपोर्टलाई उदृत गरेको छ ।

‘उनी करिब ७ महिना थुनामा बसी अनुसन्धानमा सहयोग गरिसकेको देखिँदा’, आदेशमा भनिएको छ, ‘उनलाई पुर्पक्ष थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेश बेरितको देखिएकाले बदर हुने ।’

१ वर्षअघि अमेरिका अध्ययनमा गएका पृथ्वी मल्ल २०७६ साल मंसिर २३ मा नेपाल बिदामा आएका थिए । त्यसको ४ दिनपछि मंसिर २७ मा बेलुका उनी नक्साल नारायणचौरस्थित जिम हलमा गए । त्यहाँबाट बालुवाटार रेस्टुरेन्टमा खाना खाएर फेरि घुमेर राति क्लब गएर बिहान साँढे ५ बजे घर जाने क्रममा थिए ।

अत्यधिक मदिरा सेवामा रहेका उनले बुढानिलकण्ठमा साइडको अर्कोपट्टि पोलमा कार ठक्कर दिए, त्यहाँ रोकिएको मोटरसाइकलमा कार ठोक्कियो । त्यही क्रममा लीला देवकोटालाई पनि ठक्कर दियो । अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो ।

उनले सवारीसाधन चलाएका बेला नेपाली लाइसेन्स समेत थिएन । स्वास्थ्य परीक्षणका क्रममा मदिरा सेवन गरी सवारीसाधन चलाएको खुल्यो । सडकपेटीमा टायरको डाम ४० फिट परसम्म थियो । यी परिस्थिति विश्लेषण गर्दै जिल्ला अदालतले सवारी साधन अनियन्त्रित अवस्थामा रहेको, तीव्रगतिमा कुदाईएको कारण व्यक्तिको ज्याने गरेको भनी औंल्याएको छ ।

घटनामा संलग्न पृथ्वी मल्लको दाबीअनुसार, उनले मदिरा सेवन गरेका थिएनन । उनले आफ्नो स्वास्थ्य परीक्षण प्रतिवेदन पनि झुटो हो भनी दाबी गरेका थिए । दुर्घटना हुँदा स्टेरिङ जाम भएको र ब्रेक नलागेको तर्क गरेका थिए । उनले भनेका थिए, ‘मेरो गाडीको उचाई कम छ, फुटपाथमा हिँडेकालाई लाग्दैन ।’ तर पछि परीक्षण हुँदा सबै झुटो देखियो ।

पृथ्वी मल्लको साथमा रहेकी करिश मास्केको बयानअनुसार, त्यो दिन रातभर उनीहरु ठमेल गएर बियर खाए, क्लब गए, रिसोर्टमा गई खाना अर्डर गरी प्याक गर्न लगाई घर फर्केका थिए । उनीहरु गएको रेस्टुरेन्टको सुरक्षा गार्डको बयानअनुसार त्यो रात अत्यधिक मापसे गरेको उनले साथमा रहेका युवतीसँग पनि, ‘त्यस्तै व्यवहार’ गरेका थिए ।

कारबाट निस्केर केटीहरु भागेको प्रत्यक्षदर्शीको भनाइ थियो । घटनामा संलग्न मल्लले ब्रेक नलागेको र स्टेरिङ फेल भएको दाबी गरे पनि घटनापछि गाडीको यान्त्रिक प्रतिवेदनअनुसार, ब्रेक ठीकै थियो ।

‘उनको कारणले व्यक्तिको जीवन क्षति भएको’ अदालतको आदेशमा भनिएको छ, ‘तर मृतकको कुनै दोष र भूमिका नदेखिएकाले पछि ठहरेबमोजिम हुने गरी आरोपितलाई पुर्पक्षमा पठाउनु ।’ यो समाचार कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार