प्रधानमन्त्री ओलीको शेखपछि सबै सम्पति प्रतिष्ठानलाई

Law Hub Nepal वैशाख २, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा प्रतिष्ठान दर्ता गरेका छन्।

उनले आफू निकट नेताहरूलाई यसको जानकारी गराएका हुन्।

ओलीले प्रम हुनुअघि नै सो प्रतिष्ठान दर्ता गराए पनि सोको जानकारी हालैमात्र आफूहरूलाई गराएको ओली निकट एक स्थायी समिति सदस्यले बताएका छन्।

ओलीले बालकोटको निवास र सोले चर्चेको जग्गा आफ्नो र पत्नी राधिका शाक्यको शेखपछि प्रतिष्ठानले भोगचलन गर्ने बताएका छन्।

त्यसैगरी ओलीले प्रतिष्ठानले के कसो गर्ने, कसरी गर्नेमा छलफल गरेर अगाडि बढ्ने सोच बनाएको बताइएको छ।

प्रधानमन्त्री भएपछि सार्वजनिक भएको सम्पति विवरण अनुसार ओलीको सबैजसो अचल सम्पति पत्नी राधिकाको नाममा छ।

त्यसमा भक्तपुरको बालकोटमा डेढ रोपनीको क्षेत्रफलमा रहेको ३ तल्ले दुई वटा घर छन्। यस्तै झापामा १० कट्ठा जमिन पनि राधिकाकै नाममा छ।

यसैगरी ओलीले त्यतिबेला बुझाएको सम्पति विवरणमा श्रीमती शाक्यको नाममा माछापुछ्रे बैंखमा ४ लाख, प्रभू बैंखमा ६ लाख र २५ लाख रुपैयाँको बचतपत्र रहेको उल्लेख गरेका थिए।

यसैगरी ओलीले आफ्नो नाममा एभरेष्ट बैंकमा ४२ लाख रूपैयाँ रहेको जनाएका थिए। उनले आफ्नो सम्पतिको श्रोत तलबभत्ता देखाएका छन् भने श्रीमती शाक्यको सम्पति पनि स्वआर्जन रहेको उल्लेख छ।

हिजो मात्रै नयाँ वर्ष २०७७ सालको शुभकामना दिदैं ओलीले देशमा जारी कोरोना संकट नटरेसम्म आफ्नो सम्पूर्ण तलबभत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका थिए।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार