कविता : कथनी र करनी हात्तीको दाँत भएको मुलुकमा

Law Hub Nepal असाेज ८, २०७७
  • सन्दिप गिरी ।

कथनी र करनी हात्तीको दाँत भएको मुलुकमा,
थरी-थरीका अभिनय गर्छन्,
खेल हो राजनीति यिनी जे पनि गर्छन् ।

बरु यो मुलुकलाई नै आफ्नो स्वेच्छाले नचाउँछ
जस्तो चाहन्छ, त्यस्तै बनाउँछ ।

थैली चढाएर, कालो कोटलाई
हरिया नोटसित बिक्रि हुन बाध्य बनाउँछ ।

सत्तासेवा र स्वरक्षा गर्ने सुरक्षालाई
बिक्रि हुन् बाध्य बनाउँछ ।
बिज्ञापन एवं प्रायोजनहरुमा
पत्रकारलाई बिक्रि हुन बाध्य बनाउँछ ।

कमिसन चाहिन्छ कि नजराना
भेटी, दस्तुर या उपहार, कोसेली,
सौगात, कुम्लो, पोको सबै चढाउँछ्न् ।

मुलुकलाई शकुनिको पासा बनाउँछ्न्
चटकीहरुको तमासा बनाउँछ्न ।

मानव कालको उत्पतिदेखि नै
आसन जमाएकाछ्न् यिनीहरुले,
बादँरहरु आफ्नालाई च्यापेर
धुरी-धुरीमा पुगेजस्तै यिनीहरु पनि
आफ्नै पत्नी र बालबच्चाहरु प्रती आसक्त छन् ।
उही पारिवारिक भावना विस्तृत क्षेत्रमा विस्तार गर्छन्
र मिथ्या प्रतिष्ठा, सम्मान एवं स्वार्थले भारयुक्त हुन्छन् ।

“स्वधर्मे निधनम श्रेय पर धर्म भयावह”
अर्थात’जनताको जीवन रक्षा गर्ने दायित्व क्षेत्रीय शासकको धर्म हो ” तर यिनले देखेका सम्पूर्ण क्षेत्र
र त्यस क्षेत्रका समस्त प्रजा पनि
आफ्नै घरपरिवार वा नातागोताका सदस्य हुनेछन् ।

यिनी आँखा पनि देख्छन्,
धृतराष्ट्र पनि होइनन्
तर धृतराष्ट्र जस्तै हुन्
आफ्नो र पराई छुट्याउन पनि
बराबर जानेका हुन्छन् ।

यिनी चिल्ला-मिठा कुराले
मान्छे फकाउन पनि जानेका छन्,
उसै पर्यो भने यिनी
मान्छे तर्साउन पनि जानेका छन् ।

थरी-थरीका कला छन् यिनमा,
चटक देखाउनु पर्यो भने चटक पनि देखाउँछ्न्,
जादु देखाउनुपर्यो भने उत्तिखेरै उड्ने महल ठड्याउँछन् ,
भुइँमा टेकेर त हिंड्नै छाडेका हुन् यिनी ।

यिनी जति बृद्ध हुँदै जान्छन्
त्यति नै मिथ्या प्रतिष्ठाप्रती आसक्ति हुँदै जान्छ्न् ।

जिवनको अन्तिम बुढेसकालमा पनि
यिनी आफुबिना सबै कुराहरु बिग्रन्छ भन्ने सोच्छन् ।

पदमा बहाल रहेर आन्न्द लिई सक्दा पनि,
आँखा नदेख्ने अवस्था भएपनि राजनीतिबाट अवकाश लिंदैनन् ।

बरु जीवनको अन्तसम्म पनि
परिवारप्रतिको आशक्तिले आफ्ना पारिवारिक जनहरुलाई
मृत्युको क्रूर पन्जाबाट रक्षा गर्ने सक्षम हुन्छु भन्ने सोच्दछ्न् ।

देशको लागि केही गर्छु भन्दै चोरेर,
लोरेर खानेहरु पनि यिनै हुन्,
ढाँटेर, खोसेर वा मागेर खाएकाहरु पनि यिनै हुन् ।

जहाँबाट खँगारिए पनि
हिलो लाग्दैन यिनलाई
धुलो लाग्दैन यिनलाई ।
इतिहासलाई ठगेर जसरी पनि
आफ्नो वीरताको गाथा बनाउछ्न यिनि ।
फेरि दोहोरीएर पुग्छन् —
उसैपरे “राम” भन्दा पहिल्यै लङ्का पुग्छन् ।

पाले, पहरे, द्वारे कसैले रोक्दैन यिनलाई
ढोका खुलोस् कि नखुलोस्
नियम, कानुन मिलोस् कि नमिलोस्
केहि फरक पर्दैन यिनलाई ।
भन्निछ नि “चोरचोर मौसेरा भाइ”
कति छ्न् कति यिनका मौसेरा भाईहरु ।

यिनीहरूको आफ्नो अन्डर ग्राउन्ड
छुट्टै एउटा विधान छ ।
यिनले चाहेबमोजिम नियम, कानुनको
गठन र विघटन पनि उतिखेरै हुन्छ।

प्रायः यिनका निति र नियत
दुबैमा महाभोज नै चलेको हुन्छ ।
आऊ आऊ थाल थापेर ताँती लाग
आफु खाऊ, आफन्तलाई खुवाउ
नातागोता, को-को, कहाँ-कहाँ छन्
सम्झी-सम्झी बोलाऊ ।

( गिरी पृथ्वीनारायण क्याम्पस पोखरामा बीएएलएलबी तहमा अध्ययनरत छन् । )

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार