अब त राजनीतिमा नआई भा’छैन ! (कविता)

Law Hub Nepal असाेज १, २०७७
  • सन्दिप गिरी ।

सिद्धान्त के हो पनि था’छैन
नैतिकताको डर पनि ला’छैन ।

सबैले कमाए, सबैले बनाए
मेरो पालो आ’ छैन ।

अब त म पनि राजनीति गर्छु
किनभने काठमाडौमा एउटा घर नभै त मलाई पनि भा’छैन ।

काम पाइन्न यहाँ
माम पाइन्न यहाँ
ईमान, लगन र योग्यता
चाहिंदै चाहिन्न यहाँ
के हेरेर बसौं ?
के गरेर बसौं ?
अब त राजनीतिमा नआई भा’छैन ।

भन्नेको मुख थाक्छ,
सुन्नेको कान पाक्छ,
यहाँ यस्तै छ, यस्तै हुन्छ
मौलिक र मालिकको खोजी ।

छोडिदिनुस्; सिद्धान्त र आदर्शका कुरा,
तिथिमिति र इतिहासका कुरा,
इमानदार सधै उपेक्षित हुन्छ,
यहाँ सतीको सराप छ ।
षड्यन्त्रै षड्यन्त्रको जञ्जाल छ,
हल्लैहल्लाको धराप छ ।

फलानो काण्डको अभियोगमा
कठघरामा उभिएको फलानो
अहिले फलानो आयोगको साहेब भा’ छ
अनि राजनीति भन्दा सुरक्षित र भरपर्दो के हुनु !

छिमेकी काकाले नेता ज्युको पार्टीमा आउन नमानेको त !
उनको छोरालाई डाकाको मुद्दा लागेछ ।

थैली चढाएर, नातागोता जुटाएर
ठाउँमा इमानदारिताको भिख माग्दैछ्न,
बिचरा दिनभरि सुत्छन् कुर्सीमै
सपना भए रे अधुरो बर्बराउँँछन् निदमै ।

जहाँ कालो कोट र हरिया नोटसित न्याय बिक्रिमा छ,
सत्तासेवा र स्वरक्षा गर्ने सुरक्षा बिक्रिमा छ,
बिज्ञापन एवं प्रायोजनहरुमा पत्रकार बिक्रिमा छ,
त्यहाँ इमानदारिताको के मुल्य हुन्छ,
जागीरको के अवसर हुन्छ,
जहाँ उद्योग ब्यापार बन्द गरिएको अवस्था छ ।

आलु, मुला र गोलभेडालाई ग्लोबल टेन्डर गरिन्छ जहाँ,
आम मानिसले काम पाइन्न यहाँ
माम पाइन्न यहाँ,
ईमान, लगन र योग्यता
झनै चाहिदै चाहिन्न यहाँ ।
के हेरेर बसौं ?
के गरेर बसौं ?
अब त राजनीतिमा नआइ भा’छैन ।

( गिरी पृथ्वीनारायण क्याम्पस पोखरामा बिएएलएलबि अध्ययनरत छन् । )

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार