कविता : आमा तिम्रो न्याय !

Law Hub Nepal असाेज १८, २०७७
  • जयकिशोर मण्डल ।

आज तिम्रो न्यायमा मानवताको खाँचो देखिन्छ
संघीयताको नाममा देश डुबाउने बाटो भेटिन्छ ।
तिम्रै सारथीले तिमीलाई खोलामा पुर्‍याएको भेटिन्छ
संघीयताका नाममा सत्ता संकटमा बगेको देखिन्छ ।

तिम्रो अगाडी म पनि मौनतामा उल्झेको देखिन्छु
आफ्नै आमा भेट्न पहिचान बोकेर हिँडेछु ।
हो, बुझ्दैछु म, म त केवल तिम्रो एउटा बहाना रहेछु
संघीयताका नाममा रगत बगाउने नदीको किनार रहेछु ।

तिम्रो न्याय मान्नु कसरी,
दाजु र बाको रंग रातो थियो भन्ने बिर्सिनु कसरी
बस्नु कसरी तिम्रो घर,
दाजु-भाईलाई ‘मधेशीया/पहरीया’ भनेर

आमा मन त मेरो नि रून्छ,
जब कोही मलाई मधेसी, भैया, धोती भन्छ,
आखिर किन आमा –
दाइ-भाइ का सट्टामा भैया भनेको सुनिन्छ ?
जब गर्भ दुवैले तिम्रै पाएको भेटिन्छ ।

हो दोषी छु म आमा
तिमी लुकाउन रात बनेर जन्मेछु,
कालो भए पनि
तिम्रो आकाशमा तारा भएर मर्नेछु ।

आमा तिम्रो कानुनमा म मात्र बाँधिए,
नेपालीको नाममा मधेशी नै सुन्न पाएँ,
आज तिम्रो न्यायमा मानवताको खाँचो पाएँ
स्वदेशीको साटो बिदेशी नि सुन्न पाएँ ।

(मण्डल पृथ्वीनारायण क्याम्पस पोखरामा बीएएलएलबी अध्ययनरत छन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार