कविता : सर्वहाराको नेतृत्व

Law Hub Nepal वैशाख ८, २०७७
  • रवीन्द्र मिश्र

आजभोली म अलिकति आराममा छु
तर देश हाँक्नु पर्छ
आराम पनि के भन्नु
अलिअलि व्यस्त नै छु
टेलिभिजन धेरै हेर्दिन
पत्रपत्रिका खासै पढ्दिन
पढ्न त्यति मन पनि छैन
चाहिने कुरा आउँदै आउँदैन

तर दिनदिनै
साथीहरू मलाई रिपोर्टीङ् गर्छन्
सबैतिर ठिकठाकै छ रे
सिर्फ केही नेपालीहरू ठाउँ, कुठाउँ
अलपत्र परेका छन् भन्ने सुनेको छु
कस्तो नबुझेका होलान्
लकडाउन भनेको ‘लकडाउन’ हो
नेपालीमा त्यसको अर्थ ‘जो, जहाँ छन्
त्यहीँ बस्ने’ भनेको हो
मैले राम्रोसँग बुझाईदिनु भनेको छु
थप निर्देशन पनि दिएको छु:
तातो पानी खानु, वाफ लिनु
तातो पानीले हात-मुख धुनु
चिसोबाट बच्नु, आइसक्रिम नखानु
मास्कसँगै चस्मा पनि ला’उनु

भन्नु पर्ने सबै भनेको छु:
भाइरसलाई जित्न तन्दुरुस्त हुनुपर्छ
खानपिनमा ध्यान दिनुपर्छ
दाउरामा पका’को मिठो हुन्छ
सबै मिलेर दाउरामा पकाउनु
झन राजमार्ग, जङ्गलको बाटोमा त
दाउरा सिंत्तैमा पाइन्छ
सकिन्छ विहान ‘ननभेज’, साँझ ‘भेज’ खानु
खानामा कोरोना प्रतिरोधी मसला हाल्नु
थाहा नभए
सबैसँग मोबाइल हुन्छ, युट्यूबमा हेर्नु
व्यायाम गर्नु, दौडिनु, साइकलिङ् गर्नु
मैले सबै भनेको छु
खाना पुर्याउन निर्देशन पनि दिएको छु

हाम्रा जनता अलि अशिक्षित छन्
कुरा बुझाउन अलि ‘ट्याम’ लाग्छ
आजभोली म ‘थोमस [पिकेटी]’को ‘क्यापिटल’ पढ्दैछु
त्यसले विश्व पुँजिवादले के दियो, के दिएन
राम्रोसँग व्याख्या गरेको छ
तपाईंले बुझिहाल्नु हुन्छ —
सर्वाहाराको नेतृत्व गर्न धेरै गाह्रो छ!

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार