कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

Law Hub Nepal जेठ १५, २०७७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देशको विवादलाई यथास्थितिमा राख्न आग्रह गरेका छन् छ ।

भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा मन्त्री ज्ञवालीले सुगौली सन्धिका अक्षर र भावना दुवैलाई सम्मान गर्न भारतलाई आग्रह गर्नुभएको छ ।

‘कालापानीबाट सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको अवस्थामा मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्छ,’ उनले भनेका छन् ।

भारतसँगको हार्दिकतापूर्ण सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले गत नोभेम्बर महिनामा भारतले एकतर्फीरुपमा कालापानी क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको बताएका छन् ।

‘नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हो,’ ज्ञवालीले भनेका छन् ।

मन्त्री ज्ञवालीले भनेका छन्, ‘भारतले नेपाली भूभागमा एकतर्फी रुपमा सडक बनाउनु हुँदैनथ्यो र वार्तावाटै समस्या समाधान गर्नुपर्ने थियो भन्ने कुरामा पुनः जोड दिन चाहान्छौं ।’

सो भ्रमणमा कालापानी र सुस्ता लगायतका क्षेत्रलाई ‘बिबादित भूमि’ मान्दै दुवै देशको संयुक्त वार्ता टोलीमार्फत् समस्या समाधान गर्ने सहमति भएको थियो ।

संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव छिटो पारित हुन नसक्नुलाई पछाडि हट्ने संकेतका रुपमा भारतमा ब्याख्या भइरहेका बेला मन्त्री ज्ञवालीले यो प्रस्ताव चाँडै पारित हुने र त्यसका लागि फास्ट ट्रयाक अपनाइने बताएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार