भारतीय वकिल प्रशान्त भूषण : जसको तुलना महात्मा गान्धीसँग भइरहेछ, किन ?

Law Hub Nepal भाद्र १९, २०७७

काठमाडौं । भारतीयहरू हालै एकजना चर्चित वकिल-अभियानकर्मी र देशको सर्वोच्च अदालतबीच चलेको एउटा मुद्दामा अल्झिए।

गएको साता ओस्कार विजेता चलचित्र ‘गान्धी’को एउटा एक मिनेटको भिडिओ भारतभरि ह्वाट्सएपमा निकै सेयर गरिएको थियो।

जसमा बेन किङ्ग्सलेले अभिनय गरेको भारतका स्वतन्त्रता नायकलाई देखिन्छ। त्यो दृष्यमा उनी ब्रिटिश न्यायाधीशसामु कठघरामा उभिएर सुनुवाइ अगाडि बढिरहँदा दिक्कदारी र निराशा मात्र पाउँछन्।

गान्धीले प्रान्त छाड्न वा एउटा प्रतिज्ञापत्र स्वीकारेको भए जमानतमा रिहा हुन सक्थे, जुन उनले मानेनन्।

न्यायाधीशले उनलाई सोध्छन्: “के तिमी जेल जान चाहेका हौ?”

“तपाईँको जो इच्छा,” गान्धी भन्छन्।

उस्तै दृश्यहरू भारतको सर्वोच्च अदालतमा पछिल्ला साता देखिएका थिए।

तीनजना न्यायाधीशहरू भएको इजलासले बारम्बार चर्चित वकिल र अभियानकर्मी प्रशान्त भूषणलाई न्यायाधीशहरूको आलोचना गरेकोमा माफी माग्न भन्थे।

र ती वकिलले त्यसलाई बारम्बार अस्वीकार गर्थे।

भूषणका भनाइमा उनले गरेको आलोचना उनको ‘विश्वास’ थियो र माफी माग्दा उनको ‘विवेकको अवहेलना’ र ‘त्यसप्रति अन्याय’ हुन्थ्यो।

जेलको जोखिमबारे उनले महात्मा गान्धीको भनाइको साहारा लिए: “म क्षमाको माग गर्दिनँ … अदालतले मलाई सुनाउन सक्ने जुनसुकै सजाय म खुसीसाथ भुक्तान गर्नेछु।”

अगस्ट १४ मा अदालतले भूषणलाई अदालतको अवहेलनामा दोषी ठहर्याएको थियो।

र गत सोमवार उनलाई न्यायाधीशहरूको आलोचना गरेका दुईवटा ट्वीटप्रति साङ्केतिक रूपमा एक रूपैयाँ जरिबाना तिर्न आदेश दियो।

इजलासले ६३ वर्षीय भूषणले सेप्टेम्बर १५ भित्र जरिबाना नतिरेमा उनी तीन महिनाका लागि जेल जानुपर्ने र तीन वर्ष वकालती काम गर्नबाट वञ्चित हुने निर्णय सुनाएको थियो।

भूषणले आफूले जरिबाना तिर्ने तर अदालतको आदेशलाई चुनौती दिँदै त्यसको समीक्षा गर्ने बाटो खोज्ने अधिकार आफूसँग सुरक्षित रहेको जनाएका छन्।

भूषणका आलोचकहरूका अनुसार जरिबाना तिर्ने उनको निर्णयले ‘दोष स्वीकारेको’ ठहर्ने बताउँछन्।

तर ‘अभिव्यक्ति स्वतन्त्रता’ र ‘न्यायिक उत्तरदायित्व’प्रतिको उनको आत्मविश्वासपूर्ण लडाइँले धेरैको मन जितेको छ।

‘प्रजातन्त्रका रक्षक’ र ‘समकालीन नायक’का रूपमा उनको प्रशंसा भइरहेको छ। उनलाई गान्धीसँग तुलना गरिएको छ।

झण्डै १६ लाखले पछ्याइरहेका आफ्नो ट्विटरमा भूषणले जुन महिनामा ती ट्वीटहरू गरेका थिए।

एउटामा उनले प्रधान्यायाधीश शरद बोब्दे एउटा महङ्गो हार्ले डेभिडसन मोटरसाइकलमा बसेको तस्बिरमा प्रतिक्रिया जनाएका थिए। दोस्रोमा उनले पछिल्ला छ वर्षमा चारजना पूर्व प्रधानन्यायाधीशका कामको आलोचना गरेका थिए।

भारतका भूतपूर्व कानुनमन्त्रीका छोरा भूषण त्यहाँका एकजना निकै सम्मानित वकिल र प्रखर मानवअधिकारवादी अभियानकर्मी हुन्। उनले आफ्नो जीवन आमचासोका मुद्दाहरू लड्नमा बिताएका छन्।

पछिल्ला ३५ वर्षमा उनले सरकारी भ्रष्टाचार, वातावरण, अदालती पारदर्शिता र कयौँ मानवअधिकारका मुद्दा लडेका छन्।

एक समाचारका अनुसार उनको ८० प्रतिशत समय नि:शुल्क कार्यमा जाने गरेको छ, जुन उनले गरिब र विस्थापित मानिसहरूको प्रतिनिधित्व गर्नमा खर्च गर्छन्।

पछिल्लो घटनाले त भारतमा ठूलो प्रदर्शनको माहोल सिर्जना गर्यो।

सयौँ पूर्वन्यायाधीश, वकिल र प्रवुद्ध व्यक्तिहरूले एउटा वक्तव्य जारी गर्दै भूषणलाई अवहेलना मुद्दामा दोषी ठहर गर्नु भनेको ‘शीर्ष अदालतलको कार्यशैलीप्रति आलोचनात्मक धारणा व्यक्त गर्ने मानिसहरूमा डरलाग्दो असर सिर्जना गर्ने’ जनाएका थिए।

हजारौँले सामाजिक सञ्जालमा उनीप्रति ऐक्यवद्धता जनाए। देशका थुप्रै भागमा अदालतबाहिर उनको पक्षमा प्रदर्शन भए।

सोमवार सर्वोच्च अदालतले एक रुपैयाँको जरिबानाको आदेश सुनाउँदा भूषणका समर्थकहरूले त्यसलाई ‘नैतिक जित’को रूपमा लिए। उनीहरूले एक रुपैयाँको जरिबाना अदालतको ‘फेससेभिङ’ कदम ठाने।

तर भूषणले एक रुपैयाँको सिक्कासहित आफ्नो एउटा तस्बिर ट्वीट गर्दै आफ्ना वकिलले उक्त जरिबाना चन्दास्वरूप दिएको र आफूले त्यसलाई ‘सधन्यवाद स्वीकारेको’ जनाएका छन्। बीबीसी बाट ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार