आफ्ना बाबु ‘निर्दोष छन्’ भन्दै रञ्जनका दुई छोराले दिएको निवेदन दर्ता गरेन सर्वोच्चले

Law Hub Nepal श्रावण २३, २०७७

काठमाडौं । रञ्जन कोइरालाका छोराहरु आयुष र आर्यनले आफ्ना बाबु ‘निर्दोष छन्’ भन्दै दिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।

बिहिबार २३ वर्षीय आयुष र १९ वर्षीय आर्यनले प्रधानन्यायाधीशलाई सम्बोधन गरेर निवेदन दिएका थिए । तर, मुद्दामा उनीहरुको ‘सरोकार नभएको’ भन्दै सर्वोच्चको मुद्दा महाशाखाले सो निवेदनको दर्ता प्रक्रिया अगाडि बढाएन ।

पत्नी हत्याको आरोपमा ८ वर्ष ६ महिना जेलमा बसेर पूर्वडिआईजी रञ्जन कोइराला साउन ८ मा रिहा भएका थिए । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलाशले रञ्जनको मुद्दा पुनरावलोकन गर्न आदेश दिएको छ ।

‘पुनरावलोकन आदेश भएको मुद्दामा छोराहरु सरोकारवाला भएनन्’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने– ‘म्यादमा प्रतिवादी हाजिर हुन्छन्, निवेदन दिएको कुरा हाम्रो नोटिशमा भएन ।’

मुद्दाका ‘कन्सर्न पार्टी’ नभएका कारण छोराहरुले दिएको निवेदन दर्ता नभएपछि रञ्जनले अब आफ्नो लिखित प्रतिवाद गर्न पाउँछन् ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सजाय कटौती गरेर ८ वर्ष ६ महिना कायम गरेको थियो । सोही फैसलाका आधारमा रञ्जन रिहा भएका थिए ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार