भारतलाई नेपालको जवाफ- ‘आफ्नै भू-भागमा नेपालीको आवतजावत रोक्न सकिंदैन’

Law Hub Nepal श्रावण १४, २०७७

काठमाडौं । केही साताअघि भारतले कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाउनु भनेर पठाएको पत्रमा नेपालले कडा शब्दमा जवाफ फर्काएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार भारतको धार्चुलाका उपजिल्ला अधिकारीलाई जवाफ फर्काएको हो।

धार्चुलाबाट गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको र त्यसमा रोक लगाउन भन्दै केही साताअघि धार्चुलाले जिप्रका दार्चुलालाई पत्र पठाएको थियो।

भारतले पत्र पठाएपछि प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले गृह मन्त्रालयलाई पत्राचार गरेका थिए। गृहमन्त्रालयको जवाफपछि पोखरेलले भारतलाई पत्र पठाएका हुन् ।

जिप्रका दार्चुलाले पठाएको पत्रका गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भू-भाग भएको हुँदा नेपालीहरूको आवतजावत स्वभाविक रहेको उल्लेख छ।

सन् १८१६ मा सम्पन्न सुगौली सन्धीको धारा ५ र त्यस चरणमा प्रकाशित नक्सा एवम् तथ्य प्रमाणहरूका अनुसार कालीनदी र लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, कालापानी, लिपुलेक लगायतका क्षेत्र नेपालको भू-भाग रहेको कुरा प्रष्ट नै रहेको पत्रमा उल्लेख गरिएको छ।

उल्लेखित भू-भाग नेपाली भएको हुँदा नेपालीहरूको आवतजावत हुनु स्वभाविक नै रहेको र त्यसमा कुनै बाधा अड्चन हुनुहुँदैन भन्ने नेपाल सरकारको धारणा रहेको पनि जानकारी गराइएको छ ।

‍गत नोभेम्बरमा भारतले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सीमा विवाद सुरू भएको थियो। त्यसपछि नेपालले पनि कालापानी, लिम्पियाधुरा समेटेर जेठ ७ गते आफ्नो नयाँ नक्सा जारी गरेको थियो।

अहिले नेपाल सरकारले टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र प्रहरी तथा नेपाली सेना पठाएपछि त्यस क्षेत्रमा चहलपहल बढेको छ। जसकारण भारत सशंकित भई पत्र पठाएको हुनुपर्ने अनुमान सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले गरे।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार