अब विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म !

Law Hub Nepal चैत्र ३, २०७६

काठमाडौं । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोक्नेेबारे छलफल अघि बढाएको छ । यसअघि विद्यालय समय १०–४ रहेेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय गरिसकेको छ।

साथै, शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन पनि निर्देशन दिइएको छ ।

हाल विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय समान रहेको छ।

कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिन लागिएको हो।

खासगरी काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको शिक्षा मन्त्रालयले जनाएको छ।

यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । प्रायः सबैजसो बोर्डिङ स्कुलहरुले गाडीबाट विद्यार्थीहरु ओसार्छन् ।

सार्वजनिक, सरकारी, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने समस्या रहेको छ ।

त्यसैले नयाँ समय लागु गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरेको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयनबारे सरोकारवालासँग छलफल गरेको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार