एसईई लकडाउन खुलेलगत्तै हुने, मन्त्रालयले भन्यो- ‘परीक्षाको तयारीमै रहनोस्’

Law Hub Nepal चैत्र २२, २०७६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ ।

मन्त्रालयले परीक्षार्थीले तनाव नलिई परीक्षा तयारी गर्न भनेको छ । मन्त्रालयले कोभिड–१९ को संत्रासका कारण चैत ६ गतेबाट हुने परीक्षा स्थगित गरेको थियो ।

चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले परीक्षाको तयारीमा रहेका विद्यार्थीले तनाव नलिई आफ्नो पाठ्यपुस्तक रिभिजन गर्न र अनावश्यक हल्लाको पछाडि नलाग्न अनुरोध गरेे ।

परीक्षा तयारीमा रहेका विद्यार्थीले घरमै बसेर एसईई परीक्षालाई लक्षित सामग्री हेर्न, पढ्न सक्ने व्यवस्था रहेको प्रवक्ता शर्माले जनाए ।

मन्त्रालयको वेबसाइट, युटुब र टेलिभिजनमा केही विषयका परीक्षा तयारी सामग्री पढ्न, हेर्न र बुझ्न पाउने व्यवस्था रहेको पनि शर्माले जानकारी दिए ।

त्यसैगरी शिक्षक महासंघले इन्टरनेट नभएको ठाउँमा विद्यार्थीले आफ्नो समस्या फोनबाट शिक्षकलाई सोध्न सक्ने व्यवस्था गरेको छ ।

सातै प्रदेशमा पाँच विषयको हेल्प डेस्कको व्यवस्था गरेको महासंघका अध्यक्ष बाबुराम थापाले बताए । विद्यार्थीको समस्या हल गर्न ३५ जना विषय शिक्षकलाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको रेकर्ड अनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्‍द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार