मुद्दाको सुनुवाइ चलिरहँदा ‘सिद्धबाबा’ गिरी भारतमा

Law Hub Nepal माघ ९, २०७६

माघ ९, काठमाडौँ । जबरजस्ती करणीको मुद्दाको सुनुवाई चलिरहँदा ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरी भारततर्फ हिँडेका छन् ।

आज विराटनगरस्थित उच्च अदालतमा बलात्कार आरोपी गिरीको सुनुवाई चलिरहँदा उनी भारततर्फ लागेका हुन् । विराटनगर सीमावर्ती नाका जोगबनीबाट नीजि सुरक्षाकर्मीलाई फर्काएर उनी बाहिरिएका हुन् ।

उनी ग १ च ८१५७ नम्बरको गाडी चढेर भारततर्फ लागेको बताइएको छ। उनका एक अनुयायीका अनुसार केही निकट समर्थकलाई साथमा लिएर आश्रम रहेको सुनसरीको चतराबाट गिरी उच्च अदालतका लागि हिँडेका थिए ।

यद्य‌पि उनी अदालत नपुगी दिउँसो १ बजे सिधै जोगबनीतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए।

उनका निकटस्थका अनुसार स्वास्थ्य उपचारका लागि गिरी भारतको राजधानी दिल्लीतर्फ गएका हुन् । यसअघि गतसाता पनि उनी स्वास्थ्य उपचारका लागि दिल्ली पुगेको बताइएको छ । त्यसकै ‘फलोअप’का लागि गिरी पुनः त्यसतर्फ गएको अनुयायीको भनाइ छ ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाई बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो ।

गिरीमाथि आफ्नै अनुयायीलाई गत कार्तिक ४ गते बलात्कार गरेको आरोप रहेको छ । पीडित महिलाले उनीविरुद्ध किटानी जाहेरी दिएसँगै मंसिर १६ जिल्ला प्रहरी सुनसरीले गिरीलाई पक्राउ गरेको थियो ।

सोही क्रममा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेका थिए । त्यसपछि मुद्दा उच्चमा पुगेको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार