चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, मानिसलाई घरभित्रै बस्न सरकारको आग्रह

Law Hub Nepal फागुन ९, २०७६

एजेन्सी । दक्षिण कोरियाले कोरोना भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ।

शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले  कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगेको बताएका हुन् ।

तर, त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने उनले बताएका छन्।

शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड-१९ देखिएको छ भने एक जनाको ज्यान गइसकेको छ।

प्रधानमन्त्री चुङ से क्युनले यसअघिका सबै प्रयास बाहिरबाट भाइरस आफ्नो देशमा नआओस् भन्नेमा भए पनि अब यसलाई स्थानीय रूपमा फैलिन नदिनमा केन्द्रीत हुने बताए ।

सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ। थेगुमा रहेको सिन्चेेन्जी चर्चको शाखामा कोभिड-१९ देखिएको  हो ।

कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको अधिकारीहरूले बताएका छन्। उक्त चर्चमा भाइरस कसरी आइपुग्यो भन्ने खुल्न सकेको छैन।

झन्डै २५ लाख मानिस बसोबास गर्ने थेगुमा कोभिड-१९ का बिरामी देखिन थालेपछि थेगुका मेयरले नागरिकलाई घरबाहिर ननिस्कन र घरभित्र पनि मास्क लगाएर बस्न अनुरोध गरेका छन्।

सबैलाई चर्चमा नजान भनिएको छ भने भेला हुन र्‍याली गर्न पनि प्रतिबन्ध लगाइएको छ।  सिन्चेन्जी चर्चको थेगु शाखा बुधबारदेखि बन्द गरिएको छ।

राजधानी सउलमा पनि मुख्य प्रदर्शनस्थलहरूमा भेला हुन रोक लगाइएको छ। पार्कहरू बन्द गरिएको बताइएको छ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार