कथा : गुलाफ

Law Hub Nepal जेठ ३०, २०७७
  • समीर गौतम ।

नभेटेको धेरै भइसकेको रहेछ । मलाई अचानक याद आयो – गुलाफको । र, म गुलाफलाई भेट्न गएँ – पार्कमा ।

म अक्सर गइरहन्थें त्यता, तर यसबिचमा समयको दुरी अलि बाक्लिएको थियो । खोइ म कहाँ हराएँ यत्तिका दिन – आफैले ठम्याउन सकिनँ ।

यो पार्क कसले, किन बनाएको थियो मलाई थाहा थिएन । गाउँभन्दा अलिक एकलास र टाढै थियो । र पर्याप्त सम्भार नपाएको यसका जिर्ण पर्खालहरुले गवाही दिइरहेका थिए । मैले त्यहाँ कहिल्यै म बाहेक अरु कोही मानव अस्तित्व देखेको थिइन । सायद गाउँलेहरु यस पार्कप्रति गैर-गम्भिर थिए ।

सायद केही कालखण्ड अघि यहाँ कोही शौखिन थियो, जसले नितान्त शौखका खातिर यो पार्क बनाएको थियो र आफ्नो तीनपुस्ते विवरण सहितको कुरुप शिलालेख कतै ठड्याएको थिएन ।

मलाई यस पार्कमा अद्भुत शान्ति मिल्थ्यो । मन शीतल हुन्थ्यो । सायद मनको शीतलताले होला तनमा बेग्लै प्रकारको स्फुर्ति आउँथ्यो । तनमा आएको स्फुर्तिले मलाई स्वर्गको विभ्रम पैदा गराउँथ्यो ।

यहाँको गुलाफको सौन्दर्यले मलाई सुन्दरताको अमूल्य मूल्यबोध गराएको थियो । पंक्तिबद्ध गुलाफका झाडी र यिनमा फक्रेको गुलाफको मौन हाँसोले मलाई सुन्दरताको ध्वनी नै मौन हुन्छ भन्ने अस्थायी निष्कर्षमा पुर्‍याएको थियो । त्यसैले म यहाँ आइरहन्थेँ, एक्लै मन्त्रमुग्ध भइरहन्थें ।

धेरैदिनपछि आएको हुँदा म पार्कमा धेरै बेर बसें । भोलि फेरी भेटौँला भन्दै सूर्य पश्चिम छितिजतर्फ लागिसकेको थियो । अनि धर्ती अब दोस्रो इनिङका लागि जुनको स्वागतार्थ तम्तयार देखिन्थ्यो । र, म पश्चिम छितिजतर्फ ओरालो लागेको सूर्य र त्यसैको लालिमय रोशनीमा मौन मुस्कराइ रहेका गुलाफहरुको सौन्दर्यपान गरिरहेको थिएँ ।

हठात् एउटा गुलाफको झ्याङ हल्लियो । म आश्चर्यचकित हुँदै सतर्क भएँ । गुलाफको झ्याङ पछिल्तिरबाट एउटी केटीको उदय भयो । ऊ सत्र/अठारकी देखिन्थी ।

अचम्म ! उसले मलाई देखिन । ऊ आफैमा मग्न-निमग्न देखिन्थी । सायद ऊ पनि अघि देखिनै त्यस पार्कमा थिई र अब घर फर्किने सुरसारमा थिई । सायद ऊ आजको लागि गुलाफहरुसँग विदावारी चाहान्थी र भोलि फेरी भेट्ने बाचा गर्दै थिई ।

मैले उसलाई एकटक हेरिरहें । आफ्नो अस्तित्वको उसलाई कुनै आभास नदिएर उसलाई नियालिरहें । यस्तैमा उसले एउटा गुलाफ टिप्न खोजी अनि मैले भने – पर्ख ।

ऊ झसङग भई । पल्याक पुलुक यताउति हेरी र पो मलाई देखि । विस्फारित उसका नजरहरुले मलाई एकनास निशाना साँधिरहे ।
मैले भनें – ‘किन टिप्न खोजेकि ?’

ऊ केही बोलिन । गुलाफको मौनतालाई चुनौति दिँदै मौन उभिरही ।
मैले नै पुन: सोधें – ‘मन परेर हो ?’

उसले ‘हो’ भन्ने भावमा शीर हल्लाई, शब्द खर्च गरिन ।

त्यसपछि मैले आदर्शवादी बुज्रुकको अन्दाजमा भनेँ – ‘हेर नानी मन पर्यो भन्दैमा फुल टिप्न हुँदैन । के तिमिलाई कोही मान्छे मन पर्यो भन्दैमा उसको टाउको काटेर घर लान्छ्यौ र ?’

ऊ होत्तनी ! को भावमा प्रकट भई । प्रभावित भएको नजरले मलाई हेरी । र टिप्न खोजेको गुलाफलाई त्यसै छोडेर ऊ गई । म ऊ गएको दृश्य हेरिरहें । उसले छोएका गुलाफहरु अझै हल्लिरहेका थिए ।

म जुनको उज्यालोमा घर फर्किएँ । गुलाफको फुल उसको शीरमा सजिएको कल्पना गरें । बित्थैमा बुज्रुक बनिएछ भनेर अलि अलि ग्लानी महशुस गरें । उसको शब्दहीन व्यवहारले मलाई हैरान बनायो, मनमनै उसको नाम क्वाइन गरिदिएँ– ‘मौनता’ ।

भोलिपल्ट म साविककै समयमा त्यहाँ पुगें । मनको एक कुनाले उसको प्रतिक्षा गरिरहेको आभास भयो । के अब गुलाफको सौन्दर्यपान मेरो लागि दोस्रो प्राथमिकता थियो ? तर अपसोच ऊ आइन । म निराश हुँदै घर फर्किएँ जुनको उज्यालोमा ।

अर्कोदिन अर्कोदिन र फेरी अर्को दिन म लगातार पार्क गएँ । तर ऊ लगातार अनुपस्थित भइरही । म लगातार निराश भइरहें र लगातार घर फर्किरहेँ । उसैगरी जुनको उज्यालोमा ।

तर अचानक एकदिन फेरी ऊ प्रकट भई । पूर्व परिचितको भावले मन्द मुस्कुराई । ऊ राम्री थिई । मुहारमा आइरहने गइरहने भावहरु राम्रा थिए । मुहारमा अबोधपना बाँकी नै थियो तर त्यसैमा समय लुकामारी खेल्न आइपुगेको थियो । उसको मुहारमा देखिने यस्तो लुकामारीले गुलाफको सौन्दर्यलाई ओझेल पारेको प्रतित हुन्थ्यो ।

त्यसपछि मैले भने –’नानी के नाम हो तिम्रो ?’

ऊ उसैगरी मौनता साँधिरही । तर यो लज्जा हो, एट्टिट्युड होइन भन्ने देखाउन उसले थोरै शीर निहुराई ।

मैले नै भन्नुपर्यो – यदि मैले तिम्रो नाम राख्न पाएको भए- कि मौनता कि गुलाफ राखिदिने थिएँ ।

मैले त्यति भनिनसक्दै उसले मलाई हठात् हेरी । अपर्झटमा मैले उसको मुहारका भावहरु पढ्न सकिन ।

किन मेरो नाम मौनता या गुलाफ भनेर प्रश्नवाचक आँखाले हेरेझैँ लाग्यो ।

अनि मैले भनें- तिमि यी गुलाफजस्तै राम्री छेउ । यस्तै सुन्दर । यस्तै शान्त, सौम्य र भद्र पनि ।

त्यसपछि उसको मुहारमा अस्वाभाविक भावहरु प्रकट भए ।मलाई लाग्यो सायद उ रिसाई । सायद मैले गरेको प्रशंसा उसलाई निको लागेन । ऊ त्यहाँबाट गई ।

मलाई फेरी ग्लानी महशुस भयो । मैले किन उसलाई अनावश्यक रुपमा निकटता दर्शाएँ ? के मैले उसलाई गरेको प्रशंसा संसारमा सर्वाधिक छिटो गरिएको प्रशंसा थिएन र ? मलाई यस्तै यस्तै महशुस भयो ।

भोलिपल्ट पनि म साविककै समयमा त्यहाँ गएँ । अचम्म ! ऊ त आज मभन्दा अघिनै आइसकेकी रैछ । मलाई नै पर्खिरहेको भावमा देखिन्थी । मलाई देख्ने वित्तिकै उसैगरी मुस्कुराई ।

विस्तारै मेरो छेउ आई र मलाई एउटा चिट दिई, जसमा लेखिएको थियो – ‘तपाइँले मलाइ गुलाफसँग तुलना गरिदिनुभयो । अचम्म ! मेरो नाम पनि गुलाफ नै हो । तर मलाई गुलाफ भनेर कसैले बोलाउँदैनन् । म बोल्न सक्तिन, सबैले मलाई लाटी भन्छन् । मलाइ गुलाफ भनेर बोलाउने एक मात्र मान्छे मेरी आमा थिइन् । ती पनि अब छैनिन् । मैले बिर्सिसकेकी रहेछु, मेरो नाम गुलाफ हो भनेर । तपाइँले सम्झाइदिनुभयो । मलाइ मेरी आमा फर्केर आएको जस्तै लाग्यो ।’

पत्र पढिसकेपछि मैले उसलाई हेरें । उसको आँखामा आँशु थिए । ऊ मेरो छातिमा मुख लुकाएर रुन थाली। मेरो बाहिरी छाति उसको आँशुले भिज्यो र भित्री छाति उसको मायाले ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार