पाँच सय परिवार बस्ने सनसिटी अपार्टमेन्ट सिल गरियो

Law Hub Nepal वैशाख १, २०७७

काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ ।

उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान रहेको छ ।

सनसिटीमा पाँचवटा टावर छन्, एउटा टावरमा सयवटा फ्ल्याट छन् । अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन । कतिपय परिवार बाहिर गइसकेको हुन सक्ने अनुमान गरिएको छ ।

अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उक्त तीनजनाको परिवार चैत ३ गते बेलायतबाट आएको थाहा भएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो ।

परिवारका तीनजनालाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाइएको शर्माले बताए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार